
फाईल तस्बीर।
चितवन। वर्षायाममा सडक खुलेलगत्तै हतारमा ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले नारायणगढ-मुग्लिन सडकमा ट्राफिक नियम कडाइका साथ लागू गर्ने भएको छ।
आइतबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सडकमा सवारी आवागमनसमेत अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको हो। उनले ओभरटेक नै सडक दुर्घटना र लामो सवारीजामको प्रमुख कारण बन्दै गएको बताए।
उनका अनुसार ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको छ। “आज बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भयो,” उनले भने।
बाढी-पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो। बिहान ५:३० बजे सडक खुलेपछि चालकहरूले हतारमा ओभरटेक गर्दा दुर्घटना र जाम भएको प्रशासनको निष्कर्ष छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेखनीय रूपमा घटाउन सकिने बताए। उनका अनुसार ट्राफिक नियमको पालना गर्दा चालक र यात्रु दुवै प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता भएको उल्लेख गर्दै सडक खुलेपछि आ-आफ्नो लेनमै सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकलाई आग्रह गरे।
उनले ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सुरक्षित र सहज यातायातका लागि प्रशासन, चालक र यात्रु सबैको समान जिम्मेवारी रहेको बताए।
