
जेनेभा। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र विद्युतीय उपकरणको बढ्दो मागले विश्वव्यापी व्यापारलाई बलियो बनाइरहेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्व वस्तु व्यापार अपेक्षाकृत मजबुत रहेको संगठनको निष्कर्ष छ।
शुक्रबार सार्वजनिक गरिएको डब्ल्यूटीओको नवीन वस्तु व्यापार सूचकाङ्क १०१.७ मा पुगेको छ। यो जनवरीमा रहेको १०२.३ को तुलनामा केही कम भए पनि व्यापार अझै दीर्घकालीन औसतभन्दा माथि रहेको संकेत गर्दछ। डब्ल्यूटीओका अनुसार सूचकाङ्क १०० भन्दा माथि रहनुले व्यापार औसत प्रवृत्तिभन्दा राम्रो अवस्थामा रहेको जनाउँछ भने १०० भन्दा तल रहनुले व्यापार सुस्त हुने संकेत दिन्छ।
प्रतिवेदनमा एआईसँग सम्बन्धित पूर्वाधार र प्रविधिमा बढ्दो लगानीका कारण विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको उल्लेख गरिएको छ। यसले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न नकारात्मक प्रभावलाई केही हदसम्म सन्तुलित गर्न मद्दत गरेको डब्ल्यूटीओको भनाइ छ।
सूचकाङ्कका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जासम्बन्धी सूचक १०५.५ मा पुगेको छ, जुन औसत स्तरभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ। यसले एआई प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, डाटा सेन्टर उपकरण तथा अन्य विद्युतीय कम्पोनेन्टहरूको माग तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।
त्यस्तै, निर्यात आदेशसम्बन्धी सूचक १००.५ मा कायम रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक गतिविधि जारी रहेको देखाएको छ। अन्य अधिकांश सूचकहरू भने १०० को आसपास रहेका छन्।
डब्ल्यूटीओले गत चैतमा सार्वजनिक गरेको विश्व व्यापार पूर्वानुमान तथा तथ्याङ्क प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १.९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो। यो वृद्धि अघिल्लो वर्षको तुलनामा सुस्त भए पनि सकारात्मक रहने अपेक्षा गरिएको छ।
संगठनले ऊर्जा मूल्य निरन्तर बढिरहेमा व्यापार वृद्धि दर १.४ प्रतिशतमा सीमित हुन सक्ने चेतावनी दिएको छ। तर एआई क्षेत्रमा लगानीको वर्तमान गति कायम रहेमा विश्व व्यापार वृद्धिमा थप ०.५ प्रतिशत बिन्दुसम्मको योगदान पुग्न सक्ने उल्लेख गरिएको छ।
डब्ल्यूटीओका अनुसार कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित पूर्वाधार विस्तार र डिजिटल अर्थतन्त्रको वृद्धि आगामी वर्षहरूमा विश्व व्यापारको प्रमुख चालक शक्तिका रूपमा उभिने सम्भावना रहेको छ।

