Nepal Purbadhar

रोशी क्षेत्रमा जोखिम बढेपछि बिपी राजमार्गमा अनिश्चितकालीन बन्द

फाईल फोटो।


काभ्रेपलाञ्चोक। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण बिपी राजमार्गमा दिनानुदिन जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा गरिँदै आएको अनिश्चितकालीन आवागमन बन्द थप गरिएको छ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले एक महिनादेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लागू हुँदै आएको रात्रीकालीन बन्दलाई समय समायोजन गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।

समितिले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा अर्को सूचना जारी नभएसम्म रातको समयमा आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यात्रु तथा व्यवसायीको मागलाई ध्यानमा राख्दै दिनको समय केही बढाइए पनि रात्रीकालीन जोखिम उच्च भएकाले बन्द कायम राखिएको हो।

बेमौसमी वर्षाका कारण रोशी खोलामा पटक-पटक बाढी आउँदा डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। यही जोखिमका कारण गत वैशाख २२ गतेदेखि रात्रीकालीन आवागमन नियन्त्रणमा राखिएको हो।

यसअघि वैशाख २१ गते राति वर्षाका कारण रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेबीच फसेका पाँच माइक्रोबसका ८९ यात्रुको उद्धार गर्नुपरेको थियो। त्यस घटनापछि सुरक्षा समितिले रातको समयमा आवागमनमा कडाइ गर्दै आएको छ।

सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो। त्यसपछि खोलामै अस्थायी डाइभर्सन बनाएर राजमार्ग सञ्चालन हुँदै आएको छ।


Read Previous

ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माणको महत्वपूर्ण अवसर : मन्त्री श्रेष्ठ

Read Next

२ लाख बढी सहभागी भएको हुवावे आईसीटी प्रतियोगितामा १८ टोलीले जिते पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar