
काठमाडौं। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र भएको दाबी गर्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक रूपमा आग्रह गरेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि घटनाबारे सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ।
हाल सुस्ता गाउँपालिका–५ मा करिब एक किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको छ। अधिकांश निर्माण कार्य सम्पन्न भइसके पनि त्यससँगै जोडिएको १३२ मिटर क्षेत्रमा भने माथिल्लो तहको सहमति प्राप्त भएपछि मात्र काम अघि बढाउन भारतीय पक्षले आग्रह गरेको बताइएको छ।
नारायणी नदीको बाढी तथा कटानका कारण वर्षौंदेखि स्थानीय बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्दै आएका छन्। त्यसैले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा हेरेका छन्।

स्थानीयवासीले निर्माणस्थल नेपाली भूमि भित्रै रहेको दाबी गर्दै भारतीय पक्षको आपत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्य रोकिँदा कटानको जोखिम अझ बढ्ने भन्दै तत्काल काम सुचारु गर्न सरकारसँग माग गरेका छन्।
तटबन्ध निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको र विभिन्न खण्डका लागि छुट्टाछुट्टै ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको जनाइएको छ। स्थानीयवासीले निर्माणमा देखिएको अवरोध हटाउन कूटनीतिक तथा प्रशासनिक पहल तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।

तस्बीर : नेपाल फोटो लाइब्रेरी
