Nepal Purbadhar

शेयर बजारमा देखिएन बजेटको उत्साह, बजेटपछिको पहिलो कारोबार दिन नै घट्यो नेप्से


काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। लगानीकर्तामा बजेटप्रति अपेक्षित उत्साह नदेखिँदा बजारमा गिरावट आएको हो।

नेप्सेका अनुसार आइतबार परिसूचक २६ दशमलव ७२ अंक अर्थात् ० दशमलव ९६ प्रतिशतले घटेर २ हजार ७५५ दशमलव ३७ बिन्दुमा झरेको छ। बजेटअघि भएको अन्तिम कारोबार दिन भने नेप्से ४ दशमलव ९९ अंकले बढेको थियो।

कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आइतबार ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीमा सीमित भएको छ।

बजारसँगै फ्लोट इन्डेक्स ० दशमलव ७७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ७३ प्रतिशतले घटेका छन्।

समूहगत सूचकमध्ये निर्जीवन बीमा र अन्य समूहबाहेक सबै समूह ओरालो लागेका छन्। अन्य समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ३६ प्रतिशतले बढेको छ भने व्यापार समूहको सूचक ६ दशमलव १४ प्रतिशतले घटेर सर्वाधिक गिरावटमा परेको छ। जलविद्युत समूहको सूचक पनि १ दशमलव ९७ प्रतिशतले घटेको छ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिञ्चोक हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समान १४ दशमलव ९९ प्रतिशतले बढ्दै सर्वाधिक लाभ कमाउने कम्पनी बने। विपरीत, बुंगल हाइड्रो लिमिटेडको शेयर मूल्य १३ दशमलव २० प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनीमा परेको छ।

कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ४३ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।


Read Previous

सरकारले आगामी वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएका १० प्रसारण लाइन कुन कुन हुन् ?

Read Next

विद्युत प्राधिकरणलाई विभाजन गर्ने प्रस्ताव फिर्ता लिन कर्मचारी संगठनहरूको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar