Nepal Purbadhar

धुलिखेल–खावा सडकको बिजोग अवस्था, निर्माण सामग्री अभावले निर्माण सुस्त


काभ्रेपलाञ्चोक।अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि निर्माण सामग्रीको अभावका कारण पछिल्ला दिनमा कामको गति सुस्त बनेको छ। वर्षौंदेखि धुलो, हिलो र सवारी जामको समस्या झेल्दै आएका स्थानीयवासी तथा यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता काम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको थियो। करिब चार किलोमिटर लम्बाइ रहेको यस सडकखण्डमध्ये हालसम्म करिब २.५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटर खण्डमा दोस्रो चरणअन्तर्गत कालोपत्रे गर्ने योजना छ।

यस सडकखण्डको निर्माणका लागि २०७९ जेठ २० गते २२ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर निर्धारित समय सकिएको करिब ११ महिनासम्म पनि काम पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालय भक्तपुरले २०८१ फागुन २५ गते पुरानो ठेक्का रद्द गरेको थियो।

त्यसपछि नेपाल सरकारले ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्दै १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का प्रक्रिया अघि बढाएको थियो। नयाँ निर्माण कम्पनीले मनसुन शुरू हुनुअघि नै सडकको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

निर्माण कम्पनीका अनुसार सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस बिछ्याइएको छ। त्यसपछि डिबिएम र अस्फाल्टका दुई तहमा कालोपत्रे गरिएको छ। हालसम्म अधिकांश भागमा बेस, सब–बेस तथा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ।

धुलिखेल बजार क्षेत्रदेखि खावा आसपाससम्मको मुख्य सडकखण्डमा कालोपत्रे गरिएको छ। यद्यपि केही स्थानमा अन्तिम तहको कालोपत्रे, सडक किनार व्यवस्थापन, नाली निर्माण तथा लेन मार्किङका काम अझै बाँकी छन्। बिटुमिन, क्रसिङ सामग्रीलगायत आवश्यक निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएपछि अन्तिम चरणका काम प्रभावित बनेका छन्। सामग्री अभावका कारण निर्माणस्थलमा केही दिनयता उल्लेखनीय गतिविधि देखिएको छैन।

स्थानीयवासीका अनुसार केही महिनाअघि दैनिक रूपमा हेभी उपकरण परिचालन गरी कालोपत्रे र ग्राभेलिङको काम भइरहेको थियो। तर पछिल्लो समय निर्माणस्थलमा उपकरण र कामदारको उपस्थिति समेत घटेको छ। यसले सडक छिट्टै सञ्चालनयोग्य बन्ने अपेक्षा गरेका स्थानीयवासीलाई निराश बनाएको छ।

धुलिखेल–खावा सडकखण्ड सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको महत्वपूर्ण हिस्सा हो। काठमाडौं उपत्यकाबाट पूर्वी नेपाल जाने प्रमुख प्रवेशमार्गका रूपमा रहेको यस सडकको निर्माणमा भएको ढिलाइका कारण यात्रु, व्यवसायी तथा स्थानीयवासीले लामो समयदेखि सास्ती खेप्दै आएका छन्।

निर्माण पक्षले निर्माण सामग्री आपूर्तिको समस्या समाधान हुनेबित्तिकै बाँकी कामलाई तीव्रता दिइने जनाएको छ। मनसुन शुरू हुनुअघि सकेसम्म कालोपत्रे तथा अन्य संरचनागत काम सम्पन्न गर्ने लक्ष्य रहे पनि हाल देखिएको सामग्री अभावले उक्त लक्ष्य प्रभावित हुन सक्ने देखिएको छ।

यद्यपि अधिकांश भागमा कालोपत्रे सम्पन्न भइसकेकाले विगतको तुलनामा सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ। धुलो र हिलोको समस्या धेरै हदसम्म कम भएको छ। तर बाँकी काम पूरा नहुँदा केही स्थानमा यात्रुले अझै असहज यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

स्थानीयवासीले निर्माण सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्दै बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी


Read Previous

ऊर्जा क्षेत्रमा संरचनात्मक सुधारको घोषणा, विद्युतमा भ्याटले आन्तरिक खपत बढ्ला?

Read Next

तोलामा २० हजार पाँच सयले बढ्यो सुनको मूल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar