
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले जेठ ११ गते काठमाडौंमा “आरएमजी सेक्टर एन्ड नेपाल-रोमानिया बिजनेश फोरम” विषयक अन्तरक्रिया तथा उद्घाटन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपाल तयारी पोशाक उद्योग संघ र रोमानियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच सन् २०२३ अगस्ट २७ मा भएको सहकार्य सम्झौताले दुई देशबीच व्यापार तथा लगानी विस्तारका नयाँ सम्भावना सिर्जना गरेको बताए।
उनका अनुसार उक्त सहकार्यले पूर्वाधार विकास, सीपमूलक तालिम, सूचना प्रविधि, ई–कमर्स तथा बी टु बी र बी टु सी व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको तथा रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको जानकारी पनि उनले दिए। तयारी पोशाक नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तु रहेको उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार तथा लगानी सहकार्यको ठूलो सम्भावना रहेको बताए। उनले नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने उल्लेख गरे।
रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै उनले पूर्वाधार, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार रहेको बताए। सुरक्षित र व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई लाभ पुग्ने पनि उनको भनाइ थियो।
भारत, नेपाल तथा बंगलादेशका लागि रोमानियाका राजदूत सेना लतिफले नेपाल–रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत नेपाली समुदायको योगदानबारे चर्चा गरिन्।
आर्थिक कन्सुलर इओनुत भिजिरुले रोमानियाको आर्थिक अवस्था तथा लगानी सम्भावनाबारे प्रस्तुति दिएका थिए।
नेपाल–रोमानिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकी अध्यक्ष वविता पाण्डेले दुई देशका व्यवसायिक समुदायबीच दीर्घकालीन सहकार्य र लगानी संवाद विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
त्यस्तै, रोमानियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकी प्रतिनिधि निकोलेटा इओआना चिउफुडियनले दुई देशबीच उद्यमशीलता, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनमा सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा नेपाल र रोमानियासम्बन्धी भिडियो प्रस्तुति पनि प्रदर्शन गरिएको थियो। अन्त्यमा संघका प्रथम उपाध्यक्ष वसन्तराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए।
