Nepal Purbadhar

कालीगण्डकी करिडोर : नौ वर्षदेखि अलपत्र कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द


म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको कोवाङ–जोमसोम खण्ड निर्माण अलपत्र पारेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जोमसोम बजार जोड्ने १७ किलोमिटर सडक खण्ड नौ वर्षदेखि अधुरै रहेपछि बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले ठेक्का अन्त्य गरेको हो ।

योजना प्रमुख तेजस्वी शर्माका अनुसार दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम सात पटक म्याद थप्दा पनि पूरा नभएपछि पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपाने कम्पनीसँगको सम्झौता तोडिएको हो । अब बाँकी काम सम्पन्न गर्न नयाँ प्रक्रिया अघि बढाइने उनले बताए ।

उनका अनुसार सातौँ पटक थपिएको म्याद २०८२ असोज २५ गते सकिएको २०० दिन पुग्दासमेत कम्पनीले सम्झौताअनुसार काम नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) अनुसार ठेक्का अन्त्य गरिएको हो । हालसम्म सडक खण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

वि.सं. २०७४ जेठ ९ गते ७० करोड रुपैयाँ लागतमा सम्झौता भएको उक्त आयोजनाअन्तर्गत सडक चक्ल्याउने, पर्खाल र नाली निर्माण गर्ने तथा ११ मिटर चौडाइमा कालोपत्र र ढलान गर्ने काम समावेश थियो ।

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडक स्तरोन्नतिका लागि ११ खण्डमा काम भइरहेकामा कोवाङ–जोमसोम खण्ड मात्रै अधुरो रहेको आयोजनाले जनाएको छ ।

हाल टुकुचे क्षेत्रमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलान बाँकी छ । मार्फा राजखोलाको पुलमाथि करिब एक हजार २०० मिटर सडकमा कालोपत्र गर्न बाँकी रहेको छ भने जोमसोमस्थित पुथाङ विमानस्थलदेखि नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा संरचना निर्माण र कालोपत्र हुन सकेको छैन ।

अन्य क्षेत्रमा कालोपत्र र ढलान सम्पन्न भए पनि कोवाङ–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदा पर्यटक, स्थानीय बासिन्दा तथा यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।


Read Previous

ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइलाई प्राथमिकता

Read Next

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि अधुरै, ४२ करोडको आयोजना, प्रगति ४० प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar