
काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक प्रादेशिक आर्थिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने देखिएको छ। यस्तै चालु आर्थिक वर्षमा प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ७ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो योगदान ७.१ प्रतिशत रहेको थियो ।
कार्यालयका अनुसार स्थिर मूल्यमा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा कम हो । प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३३.४३ प्रतिशत रहने जनाइएको छ । सेवा क्षेत्रको हिस्सा ५२.७ प्रतिशत, प्राथमिक क्षेत्रको ३३.६ प्रतिशत र द्वितीय क्षेत्रको १३.७ प्रतिशत रहने अनुमान छ ।
वित्तीय तथा बिमा क्षेत्रमा सबैभन्दा बढी ७.९८ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा विस्तारले उक्त क्षेत्रमा वृद्धि भएको बताइएको छ । यातायात, सूचना तथा सञ्चार क्षेत्रमा पनि सकारात्मक सुधार देखिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ ।
प्रदेशको प्रतिव्यक्ति आय १ हजार १७० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो ।
