
झापा। झापाको चन्द्रगढी विमानस्थलमा दुर्घटनाग्रस्त भएको वुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।
दुर्घटनापछि प्राविधिक अनुसन्धान र बिमा मूल्याङ्कनका कारण जहाजको अवशेष घटनास्थलमै राखिएको थियो । धावनमार्ग नजिकै दुर्घटनाग्रस्त जहाज देखिँदा यात्रुमा मनोवैज्ञानिक त्रास बढेको गुनासो आउने गरेको थियो ।
गत पुस १८ गते काठमाडौंबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । दुर्घटनामा चालक दलसहित ५१ यात्रुमध्ये सात जना घाइते भएका थिए ।
चन्द्रगढी विमानस्थल कार्यालयका अनुसार दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक अनुसन्धान पूरा गरिसकेकाले अब अवशेष हटाउने प्रक्रिया अघि बढाइएको हो । हाल विमानबाट बुद्ध एयरको नाम, लोगो र अन्य पहिचान चिन्ह हटाइसकिएको तथा बिमा कम्पनीले नै अवशेष व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ ।
