
सिरहा। जिल्लास्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक आयोजनाको निर्माण कार्य छ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । पटक–पटक म्याद थपिँदै आएको यो आयोजना अब चौथोपटक म्याद थपको तयारीमा पुगेको छ । निर्माण ढिलाइसँगै आयोजनाको लागत पनि झण्डै तीन अर्ब रुपैयाँले बढेको छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम २०७७ असार ११ गते सम्झौता भएर सुरु गरिएको थियो । प्रारम्भिक सम्झौताअनुसार २०८० कात्तिकभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म समग्र भौतिक प्रगति ६८ प्रतिशत मात्र पुगेको छ ।
निर्माण कम्पनी‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’को ढिलासुस्ती, कोरोना महामारी, रुख कटानमा ढिलाइ, विद्युत्का पोल तथा ट्रान्सफर्मर नसारिनु र आन्तरिक वित्तीय समस्याका कारण आयोजना प्रभावित भएको आयोजनाले जनाएको छ । हाल आयोजनाको म्याद आगामी असार १६ गतेसम्म कायम रहे पनि बाँकी ३२ प्रतिशत काम तोकिएको समयभित्र पूरा हुने सम्भावना न्यून देखिएको छ ।
आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा अतिरिक्त परामर्श सेवा, प्रशासनिक खर्च, निर्माण सामग्री र इन्धनको मूल्यवृद्धिका कारण लागत १८ दशमलव ९८ प्रतिशतले बढेको छ । एडिबी नेपाल कार्यालयका अनुसार हालसम्म लागत करिब दुई अर्ब ९७ करोड रुपैयाँले वृद्धि भइसकेको छ ।
सडक निर्माण ढिलाइले स्थानीय नागरिक र व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन् । लहान, गोलबजार र मिर्चैयालगायत बजार क्षेत्रमा वर्षौंदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण जनजीवन कष्टकर बनेको छ । व्यवसायीहरूले ढुवानी लागत बढेको, व्यापार घटेको तथा स्वास्थ्य समस्या बढ्दै गएको गुनासो गरेका छन् ।
अर्थविद् तथा पूर्वप्रशासकहरूले रणनीतिक महत्वको यस्तो आयोजना समयमै सम्पन्न नहुनु कमजोर आयोजना व्यवस्थापन र वित्तीय अनुशासनको उदाहरण भएको बताएका छन् ।
