
काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट यथार्थमा आधारित, कार्यान्वयनयोग्य र जनमुखी हुनुपर्नेमा जोड दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना, कृषि, स्वास्थ्य, पूर्वाधार र ग्रामीण विकासलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन्।
सांसद गणेशबहादुर विश्वकर्माले न्यून आय भएका नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्ने बताए। अर्का सांसद ध्रुवराज राईले साना किसानको हितमा बजेट विनियोजन गर्नुपर्ने उल्लेख गर्दै मुन्धुम पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरे।
सांसद भरत गिरीले बजेटलाई केवल घोषणामुखी नभई कार्यान्वयनमुखी दस्तावेज बनाउनुपर्ने धारणा राखे। सांसद विपीनकुमार आचार्यले देशभर खानेपानीको समस्या समाधान गर्न बजेटले प्राथमिकता दिनुपर्ने बताए। उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधासम्पन्न बनाउन र दाङको टरिगाउँ विमानस्थल विस्तारलाई प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरे।
सांसद रीना उप्रेती र लक्ष्मीप्रसाद पोखरेलले स्थानीय आवश्यकता र ग्रामीण विकासलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताए। पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्यायको सुनिश्चितता तथा दैलेखको जलजले क्षेत्रमा ग्यास उत्पादन अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद रमेशकुमार मल्लले पुँजीगत खर्च वृद्धि, सुशासन र समृद्धिलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताए। सांसद लिमा अधिकारी आचार्यले राष्ट्रिय गौरवका आयोजनालाई पुनः परिभाषित गरी प्रभावकारी कार्यान्वयनका लागि ‘सनसेट ल’ ल्याउनुपर्ने धारणा राखिन्।
सांसद मोहन आचार्यले दुर्गम क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

