Nepal Purbadhar

कोहलपुर–सुर्खेत प्रसारण लाईनअन्तर्गतको विवाद समाधान गर्न  ऊर्जामन्त्रीको चासो


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले मंगलबार आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीनवटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाईको बारेमा समेत चासो राखेका छन् । 

“स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,’ मन्त्री खड्काले भने ।  उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरुको पुर्नवासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए ।

भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराएका थिए  । उक्त क्षेत्रमा तीनवटा विद्युत टावर बन्न बाँकी रहेको उनको भनाई छ ।

२‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएपनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाई भएको थियो ।


Read Previous

पर्यटकले गुलजार काठमाडौं [फोटो फिचर]

Read Next

बिल गेट्स र बिनोद चौधरीबीच भेट, स्वास्थ्य र रोजगारीका विषयमा छलफल