Nepal Purbadhar

झ्याप झ्याप बत्ती किन गइरहेको छ ?, प्राधिकरण भन्छ- लोडसेडिङ होइन्, प्रतिकुल मौसमले


काठमाडौं । पछिल्लो समय लोडसेडिङकै झल्को दिने गरी झ्याप झ्याप बत्ती गइरहने समस्या बढेको छ ।

दिनमै ४/५ पल्टसम्म बत्ती गएपछि कतिपयले फेरी लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालहरुमा  लेखिरहेका छन् । यसरी विगतमा ग्राहस्तवर्गमा लाइन जाने समस्या नभएपनि पछिल्लो केहि साता यता बत्ती झ्याप झ्याप जाने समस्या बढेको छ ।

किन ?

नेपाल विद्युत प्राधिकरण विज्ञप्ती जारी गर्दै कतै लोडसेडिङ नभएको उल्लेख गरेको छ  । प्रतिकुल मौसमले बत्ती जाने समस्या बढेको बताएको छ ।

‘आफ्ना ग्राहकहरुलाई नियमित गुणस्तरिय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण सदैव प्रतिवद्ध रहेको छ । देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिन रात निरन्तर काम भई अधिकांश स्थानमा यथाशिघ्र विद्युत आपूर्ति सुचारु गरिएको छ ।

अवरुद्ध भएको विद्युत यथासम्भव छिटो सुचारु गर्न प्राधिकरणको तर्फबाट भएको प्रयासमा सहकार्य गरिदिनका साथै यस्तो अवस्थामा विद्युतीय संरचनाहरुमा क्षति पुग्न गई पोल ढल्ने, तार लत्रिने आदि) जनधनको समेत क्षति हुन सक्ने अवस्थाबाट सुरक्षित रहन सबैमा प्राधिकरणले अनुरोध गरेको छ ।

अत्यन्त पूरानो वितरण प्रणाली रहेका कारण बत्ती झ्याप झ्याप जाने समस्या बढेको हो । वितरण प्रणाली आवश्यकता अनु्सार अपग्रेड गर्न नसकेका कारण यस्तो समस्या देखिएको हो । प्रणालीमा बिजुली हुँदा हुँदै पनि प्रसारण र वितरण प्रणालीका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । उनीहरुले वितरण प्रणालीमा खतराको घण्टी बजिरहेको बताएका छन् ।

86359536

 

 

 

 


Read Previous

जलविद्युत आयोजनाको लाइसेन्स अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्ने गाइडलाइन बन्दै, सर्वसाधरणको सेयर के हुन्छ  ?

Read Next

टेल्जी नेपालले ल्यायो स्पोर्टी स्कुटर ‘एस २’, मूल्य २ लाख ६८ हजार