

एजेन्सी । विश्वभरि ७० लाख मानिसको ज्यान लिने गरी चीनमै देखिएको कोभिड सङ्क्रमणले निम्त्याएको सङ्कटबारे प्रारम्भिक रूपमा सचेत गराइएको पाँच वर्षपछि यो भाइरस देखिएको हो ।
चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै विवरणहरूमा जनाइएअनुसार खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको सङ्क्रमण बढिरहेको पाइएको छ। तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन् ।
एचएमपीभीको सङ्क्रमण भारतमा पनि पुष्टि गरिएको छ।
यो भाइरस के हो र यसको सङ्क्रमण कति गम्भीर हुन सक्छ भनेर बीबीसीले चर्चा गरेको छ।
तस्बिर स्रोत,Getty Images
के एचएमपीभी नयाँ भाइरस हो?
संयुक्त राज्य अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी) का अनुसार सबैभन्दा पहिला सन् २००१ मा उक्त भाइरसको पहिचान गरिएको थियो। तर उक्त भाइरस त्यसभन्दा दशकौँपहिलेदेखि अस्तित्वमा थियो।
एचएमपीभीका सामान्य लक्षणहरू रुघाखोकी वा फ्लूका लक्षणजस्तै हुन्छन्।
त्यसमा खोकी लाग्ने, ज्वरो आउने, नाक जाम हुने र छिटोछिटो सास फुल्ने हुन्छ। कतिपयको हकमा लक्षणहरू गम्भीर पनि हुन सक्छन्।
सबै उमेर समूहका मानिसमा त्यसले ब्रोङ्काइटिस अथवा निमोनिआसहित श्वासनलीको माथिल्लो र तल्लो भागमा समस्या निम्त्याउन सक्छ।
तर त्यो मूलतः बालबालिका, पाका वयस्क र कमजोर रोगप्रतिरोधी समस्या भएका मानिसमा देखिएको छ।
भाइरस शरीरमा प्रवेश गरेपछि सङ्क्रमण हुन तीनदेखि छ दिनसम्म रहन्छ र बिरामी पर्ने औसत समयावधि रोगको गम्भीरतामा निर्भर गर्छ। तर यस्तो अवधि भाइरसहरूले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी अरू सङ्क्रमण सरह नै हुन्छ।
सीडीसीका अनुसार हिउँदको अन्त्यतिर तथा वसन्त ऋतुमा जाडो तथा गर्मी खासै नहुने ठाउँमा यो सङ्क्रमण बढी देखिने गरेको छ।
यो कसरी फैलिन्छ?
एचएमपीभी विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा त्यसको माध्यमबाट अर्को व्यक्तिमा सर्छ।
सङ्क्रमित व्यक्तिलाई छुँदा अथवा हात मिलाउँदा वा सङ्क्रमित व्यक्तिले छोएका सामान वा सतह छोएर त्यही हात मुख, नाक वा आँखामा लग्दा पनि सङ्क्रमण हुन सक्छ।
एचएमपीभी सामान्यतया चिसो मौसममा फैलिन्छ, जुन समयमा मानिसहरू घरभित्र बढी बिताउँछन्।


खास गरी बालबालिका र वृद्धवृद्धा किन जोखिममा?
एउटा व्यक्तिलाई धेरै पटक एचएमपीभी सङ्क्रमण हुन सक्छ। विज्ञहरूका अनुसार पहिलो पटक हुने सङ्क्रमण कडा हुने गर्छ।
त्यसपछि रोगप्रतिरोधी क्षमताको विकास भएर उक्त क्षमता बलियो रहुन्जेल पहिलो पटकको भन्दा सङ्क्रमण कमजोर हुन्छ।
कमजोर रोगप्रतिरोधी क्षमता भएका पाँच वर्षमुनिका बालबालिकाका साथै ६५ वर्षमाथिका वृद्धवृद्धा अथवा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू किन यो भाइरसको बढी जोखिममा हुन्छन् भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ।
यद्यपि दशकौँदेखि यो भाइरस अस्तित्वमा रहेको पृष्ठभूमिमा विज्ञहरूका अनुसार त्यसविरुद्ध विश्वमा ठोस रूपमा प्रतिरोधी क्षमता विकास भइसकेको हुनुपर्छ।
बीबीसीको सहयोगमा ।