Nepal Purbadhar

ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजनाको बोलपत्रको म्याद बढाउन साेपानको माग


काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (साेपान) ले राष्ट्रिय प्रतिश्पर्धाबाट ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना विकास गर्न आह्वान गरिएको बोलपत्रको म्याद बढाउन माग गरेको छ । साेपानले विज्ञप्ती जारी गरी गत चैत तेस्रो साता कुल ८०० मेगावाट ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना विकास गर्न आह्वान गरिएको बोलपत्रको म्याद बढाउन नेपाल विद्युत प्राधिकरण समक्ष माग गरेको हो ।

वित्त विधेयक २०८१ मा आएको परिवर्तन तथा सौर्य विद्युत आयोजनाका उपकरण आयातमा भ्याट छुट नदिइने भन्ने अन्यौताका कारण तत्काल आवेदन दिन सक्ने अवस्था नरहेकाले बोलपत्रको म्याद थप गर्नुपर्ने साेपानको माग छ ।

‘प्राधिकरणका ग्रिड सबस्टेसन नजिकका विभिन्न स्थानमा सौर्य विद्युत आयोजना निर्माण गरी जडान गर्न गरिएको प्रतिश्पर्धा आह्वानप्रति निजी लगानीकर्ताले गम्भिरताका साथ लिएका छन्,’ विज्ञप्तीमा भनिएको छ,‘तर, वित्त विधेयक २०८१ मा आएका परिवर्तन र सौर्य विद्युत आयोजनाका अधिकांश कम्पोनेन्ट र सामग्रीलाई भ्याट छुट नदिने अन्योलका कारण सौर्य आयोजनाको लागत बढ्ने जोखिमले लगानीकर्तालाई अन्यौलमा पारेको छ ।’

भ्याट छुट नदिँदा सौर्य विद्युत आयोजनाको लागत १३ प्रतिशतसम्म बढ्ने हुँदा लगानी जोखिम बढेको पनि विज्ञप्तीमा भनिएको छ । विद्युत प्राधिकरणले सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) का लागि तय गरेको प्रतियुनिटको आधारदरलाई पनि ध्यानमा राखी भ्याटको मुद्दा समाधान नहुँदासम्म उचित वित्तीय मूल्याङ्कन र लगानीकर्ताका लागि सन्तोषजनक प्रतिफलसहितको अन्तिम बोलपत्र तयार हुन नसक्ने पनि साेपानको ठहर छ ।

भ्याट छुटको व्यवस्थाका लागि अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि आफ्ना माग राखेर मनाउन प्रयास जारी राखेको पनि साेपानको विज्ञप्तीमा जनाइएको छ । प्राधिकरणको विद्युत व्यापार विभागले गत चैत २१ गते ८०० मेगावाट ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना विकास गर्न बोलपत्र आह्वान गरेको थियो ।


Read Previous

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई -याडिसन होटल काठमाडौँमा १५ प्रतिशत छुट

Read Next

अब बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौ, ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar