Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

राष्ट्रिय गौरवका आयोजनाकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन


काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिएका छन् । आइतबार राष्ट्रिय गाैरवका आयोजनाकाे प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफलका क्रममा उनले यस्ताे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवहरूसहित संलग्न छलफलमा प्रधानमन्त्री दाहालले   राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको र काममा ढिलाइ गरी कुनै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने बताए ।

प्रधानमन्त्रीले उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथाङ्का सडक आयोजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोर सडक आयाेजना को प्रगतिबारे मन्त्रालयका अधिकारीबाट जानकारी लिए ।

कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको प्रधानमन्त्रीलाई बताए ।

उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत आर्थिक प्रगति रहेको जानकारी दिँदै शर्माले वित्तीय स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको बताए । उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको पनि उनले बताए ।

प्रधानमन्त्रीले विगतका वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् तर जनतामा सही ढङ्गले सूचना सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ । यति धेरै काम भएको जानकारी हामीले जनतालाई दिनुपर्छ, उनीहरूलाई सही ढङ्गले प्रशिक्षित गर्नुपर्छ ,”दाहालले भने ।

उनले विकास आयोजनाका कामलाई उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई परियोजनास्थलमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशन दिए । “विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ । मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ । तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीर भएर लाग्नुस् ,”दाहालले भने ।


Read Previous

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

Read Next

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा सहजिकरण गरिरहेकाे नायब उपाध्यक्ष ब्रुक्सलाई बस्नेतकाे स्पष्टाेक्ति

Leave a Reply

Your email address will not be published.