Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

बूढीगण्डकी आयोजना निर्माणमा वित्तीय स्राेत जुटाउन विकल्प प्रस्ताव


काठमाडौं । १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको हाे ।

समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठ र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन सदस्य रहेको समितिले दिएका सुझावलाई आधार बनाएर ऊर्जा मन्त्रालयमा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिएकाे छ ।

समितिले विशेषगरी वित्तीय व्यवस्थापनका सन्दर्भमा ३ वटा विकल्प अगाडि सारेको छ । त्यसमा कर्जा स्वपुँजी अनुपातका आधारमा ८० र २० प्रतिशत, ७५ र २५ प्रतिशत, ७० र ३० प्रतिशत बराबर रहनेछ । आयोजनाको कूल निर्माण लागत (निर्माण अवधिको ब्याजसमेत जोड्दा) पहिलो विकल्पमा ३ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ बराबर रहनेछ ।

दोस्रो विकल्पमा ३ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ बराबर हुनेछ । तेस्रो विकल्पमा ३ खर्ब १० अर्ब ४७ करोड रुपैयाँ हुनेछ । त्यसमा कूल कर्जा भने २ खर्ब ५४ अर्ब २७ करोड रुपैयाँ बराबर रहनेछ ।

समितिका अनुसार कर्जा स्वपुँजी अनुपात ७५ र २५ प्रतिशतका आधारमा हेर्दा कूल कर्जा २ खर्ब ३५ अर्ब ४३ करोड रुपैयाँ बराबर रहनेछ । त्यस्तै, ७० र ३० को अनुपातमा रहँदा २ खर्ब १८ अर्ब २६ करोड रुपैयाँ हुनेछ । त्यसमा सरकारको सहुलियत प्राप्त कर्जा (८०ः२०) का आधारमा एक खर्ब ५४ अर्ब ८७ करोड रुपैयाँ बराबर हुनुपर्नेछ । यसैगरी (७५ः२५) अनुपातमा एक खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ र (७०ः३०) को अनुपातमा  एक खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ बराबर हुनुपर्नेछ ।

समितिले व्यावसायिक कर्जाका हकमा ३ वटा फरक सुझाव दिएको छ । पहिलो विकल्पमा ९९ अर्ब ४० करोड रुपैयाँ बराबरको व्यावसायिक कर्जा लिनुपर्ने सुझाइएको छ । दोस्रो विकल्पमा ८८ अर्ब ४८ करोड रुपैयाँ र तेस्रो विकल्पमा ७८ अर्ब ३५ करोड रुपैयाँ कर्जा लिनुपर्नेछ । कूल स्वपँजी लगानीमा पनि ३ वटा विकल्पका आधारमा नै सुझाव दिइएको छ । पहिलोमा ६३ अर्ब ४० करोड रुपैयाँ, दोस्रोमा ७८ अर्ब ५० करोड रुपैयाँ र तेस्रोमा ९२ अर्ब २१ करोड रुपैयाँ बराबर रहनेछ ।

सरकारको स्वपुँजी लगानीमा पहिलो विकल्पमा ३२ अर्ब ३३ करोड रुपैयाँ, दोस्रोमा ४० अर्ब ४ करोड रुपैयाँ र तेस्रोमा ४७ अर्ब ३ करोड रुपैयाँ बराबर छ । नेपाल विद्युत् प्राधिकरणले गर्ने स्वपुँजी लगानीमा पनि पहिलो विकल्पमा १२ अर्ब ६८ करोड रुपैयाँ, दोस्रोमा १५ अर्ब ७० करोड रुपैयाँ र तेस्रोमा १८ अर्ब ४४ करोड रुपैयाँ बराबर हुनेछ ।

अन्य सरकारी एवं सार्वजनिक निकायको स्वपुँजीमा पनि तीन वटा विकल्प अनुसार नै प्रस्ताव गरिएको छ । पहिलो विकल्प अनुसार ५ अर्ब ७१ करोड रुपैयाँ, दोस्रोमा ७ अर्ब ७ करोड रुपैयाँ र तेस्रोमा ८ अर्ब ३० करोड रुपैयाँ बराबर रहनेछ । सर्वसाधारणले लगानी गर्ने कूल लागतको १० प्रतिशत हिस्सामा पनि ३ वटा विकल्पमा नै हिसाब गरिएको छ । पहिलो विकल्पमा ६ अर्ब ३४ करोड रुपैयाँ, दोस्रोमा ७ अर्ब ८५ करोड रुपैयाँ र तेस्रोमा ९ अर्ब २२ करोड रुपैयाँ लगानी हुनेछ । आयोजना प्रभावित धादिङ र गोरखाबासीले पहिलो विकल्पमा ६ अर्ब ३४ करोड रुपैयाँ, दोस्रोमा ७ अर्ब ८५ करोड रुपैयाँ र तेस्रोमा ९ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर लगानी गर्न पाउनेछन् ।

बैंक, वत्तीय संस्थालगायत सार्वजनिक निकायको कुल लगानीमा पनि ३ वटा विकल्प अनुसार नै हिसाब गरिएको छ । त्यसअनुसार पहिलोे  एक खर्ब पाँच करोड १० लाख रुपैयाँ, दोस्रो ९५ अर्ब ५५ करोड रुपैयाँ र तेस्रो ८६ अर्ब ६५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । सरकारको कूल लगानी (भिजिएफबाहेक) पहिलो विकल्पमा एक खर्ब ८७ अर्ब २० करोड रुपैयाँ, दोस्रोमा एक खर्ब ८६ अर्ब ९८ करोड रुपैयाँ, तेस्रोमा  एक खर्ब ८६ अर्ब ९३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । शेयर लगानीका हिसाबले कर्जा स्वपुँजी अनुपात ८० र २० नै उपयुक्त हुने सुझाव दिएको समितिले ऋण लगानीका आधारमा भने ७० र ३० को अनुपात ग्राह्य हुने बताएको छ ।

समितिले सरकारको न्यूनतम ५१ प्रतिशत शेयर कायम हुनेगरी शेयर संरचना कायम गर्नु उपयुक्त हुने सुझाव दिएको छ । गर्दा व्यवसायिक ऋण तथा शेयर लगानी जुटाउन समेत सहज हुनेछ । संस्थापक शेयरधनीका रुपमा सरकार, प्राधिकरण,का अलावा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिइल, नेपाल टेलिकमलगायतका सार्वजनिक निकायको सहभागिता हुने गरी मौजुदा शेयर संरचनामा परिवर्तन गर्नु उपयुक्त हुने समितिको राय छ ।

जलाशययुक्त आयोजना अन्य प्रकृतिका आयोजना भन्दा तुलनात्मक रुपमा लागत बढी र प्रतिफल कम हुन्छ । यस्ता आयोजनालाई वित्तीय रुपले सम्भाव्य बनाउन भायविलीटी ग्याप फण्ड र मिश्रित लगानी ( ब्लेन्डेड फाइनान्सीङ) जस्ता विधि अवलम्बन गरिन्छ । आयोजनाको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारणबाट १८ अर्ब रुपैयाँ भन्दा बढी शेयर लगानीको प्रस्ताव गरिएको छ । नागरिकको अनिवार्य वचत सङ्कलन गर्ने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता सार्वजनिक निकायबाट ठूलो परिमाणको ऋण तथा शेयर लगानीको अपेक्षा पनि गरिएको छ ।

आयोजनाको वातावरणीय तथा सामाजिक सुरक्षा खर्च वापत हालसम्म भएको ४२ अर्ब ५७ करोड रुपैयाँ समेत अनुमानित खर्च ७३ अर्ब २० करोड रुपैयाँलाई सरकारले भायविलीटी ग्याप फण्डका रुपमा व्यहोर्नुपर्ने समितिको सुझाव छ । इन्धनमा लगाइएको पूर्वाधार कर आयोजनामा उपयोग हुने गरी कूल लागत मध्ये एक खर्ब ८७ अर्ब रुपैयाँ शेयर लगानी र सहुलियत प्राप्त ऋणको रुपमा सरकारले लगानी गर्नुपर्नेछ । सो रकमबाट सरकारको प्रतिबद्धताअनुरुप आयोजनाको ५१ प्रतिशत शेयर सरकारको कायम हुने गरी बाँकी रकम सहुलियत प्राप्त ऋणमा समावेश गर्नुपर्ने हुन्छ । सरकारले प्रदान गर्ने सहुलियत प्राप्त ऋणको ब्याजदर वार्षिक एक प्रतिशत र ऋण अवधि ८ वर्षको निर्माण अवधिसहित ५० वर्ष कायम गर्नुपर्ने समितिको राय छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआीडसीएल, सामाजिक सुरक्षा कोषलगायत वाणिज्य बैंकहरु सम्मिलित सहवित्तीयकरण गठन गरी आयोजनाका लागि आवश्यक पर्ने व्यावसायिक कर्जाको प्रबन्ध गर्नुपर्ने हुन्छ । वित्तीय योजना अनुसार व्यावसायीक कर्जामध्ये रु २० अर्बसम्म एचआइडिसीएलमार्फत ऊर्जा बण्ड जारी गरी उठाउन सकिनेछ । आयोजनालाई वित्तीय रुपले सम्भाव्य र लगानीका लागि आकर्षक बनाउन सरकारले जलाशययुक्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष बनाउनका लागि नीतिगत प्रबन्ध गर्नु आवश्यक भएको समितिको सुझाव छ ।

कुन वर्ष कति रकम चाहिने ?    

आयोजनाको निर्माण सुरु आर्थिक वर्ष २०८१/८२ लाई आधार मानेर हेर्दा कुन वर्ष के कति रकम आवश्यक पर्छ भनेर समितिले सुझाएको छ । आयोजना सुरु हुने पहिलो वर्ष स्वपुँजीबाट नै  १७ अर्ब ३७ करोड ख आवश्यक पर्नेछ । आर्थिक वर्ष २०८२/८३ मा १९ अर्ब एक करोड रुपैयाँ, आर्थिक वर्ष २०८३/८४ मा २३ अर्ब ८१ करोड रुपैयाँ, आव २०८४/८५ मा ४१ अर्ब ६७ करोड रुपैयाँ, आव २०८५/८६ मा ४४ अर्ब ९५ करोड रुपैयाँ, आव २०८६/८७ मा ८२ अर्ब ४९ करोड रुपैयाँ, आव २०८७/८८ मा ४२ अर्ब ४९ करोड रुपैयाँ र आव २०८८/८९ मा ३८ अर्ब ७४ करोड रुपैयाँ आवश्यक पर्नेछ । यसोगर्दा आयोजनालाई निर्माण अवधिमा ब्याजको भार कम हुन्छ भने व्यावसायिक कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋण लगानीमा कम जोखिम भएको महसुस गर्नेछन् । त्यसबाट लगानी जुटाउन सहज हुने समितिको ठहर छ ।

यस्तो हुनेछ छ ऊर्जा उत्पादनको अवस्था    

आयोजनाबाट हिउँदमा १ हजार ४ सय ८ गिगावाट घण्टा बराबर ऊर्जा उत्पादन हुनेछ । यसैगरी वर्षा महिनामा १ हजार ९ सय ७५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । हिउँदको विद्युत् बिक्री दर प्रतियुनिट १२.४० रुपैयाँ र वर्षायामको प्रतियुनिट ६.५० रुपैयाँ बरारबर हुनेछ । आयोजनाको अनुमतिपत्रको अवधिभरमा सरकारलाई ‘रोयल्टी’, संस्थागत आयकर, मूल्य अभिवृद्धिकर तथा भन्सार महसुल गरी २ खर्ब ८४ अर्ब ८२ करोड  रुपैयाँ आय हुनेछ ।

यस्ता छन् समितिका सुझाव    

समितिले सरकारी स्वामित्वका वित्तीय संस्थासँग छलफल गरी आयोजनाको प्रस्तावित वित्तीय योजनाको ढाँचालाई अन्तिम रुप प्रदान गरी सो अनुरुपको लगानी प्रतिबद्धता लिनुपर्ने सुझाव दिएको छ । वित्तीय योजनाको ढाँचाअनुरुप व्यावसायिक ऋण तथा स्वपुँजी लगानी गर्ने सार्वजनिक निकाय एवं बैंक तथा वित्तीय संस्था र त्यस्ता निकायले लगानी गर्ने रकम यकिन गर्नुपर्नेछ । प्रस्तावित शेयर संरचनाअनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्नेछ । व्यावसायिक कर्जाको शर्त, अवस्था एवं कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था यकिन गरी त्यस्ता निकायसँग समझदारी गरी व्यावसायिक कर्जाको स्रोत सुनिश्चित गर्नुपर्नेछ ।

स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने उद्देश्यका साथ २०७९ असार १४ को मन्त्रिपरिषद्ले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७९ असार २१ गते सरकारको अधिकांश शेयर स्वामित्व रहने गरी कम्पनी स्थापना भएकोे हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन फ्रान्सेली कम्पनी ट्याक्टबेलले सन् २०१४ मा नै तयार पारी सरकारलाई बुझाएको थियो ।

आयोजना निर्मााण्का निम्ति वर्तमान सरकारले आयोजनाको फिल्ड कार्यालय स्थापना गरेर मुआब्जा वितरणको काम अन्तिम चरणमा पुर्याएको छ । प्रधानमन्त्रीले निकट भविष्यमा नै शिलान्याश गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीको चाहनाअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शीघ्र निर्णय गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । सोहीअनुरुप बिहीबार ऊर्जा मन्त्रालयमा विभिन्न १० वटा निकायका प्रतिनिधिसँग छलफल भएको हो ।

“हामी सहमति नजिक पुगेका छाैं, सरकारी स्वामित्वका वित्तीय संस्था शेयर वा सहुलियतपूर्ण कर्जाका लागि तयार भएका छन्”, बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । उनले सरकारी स्वामित्वका वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलले विश्वासको वातावरण बनाएको र आफूहरु आशावादी भएको जानकारी दिए । ती संस्थाका प्रतिनिधिले सबै विकल्पमा लगानी गर्ने प्रतिबद्धता जनाएकाे प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

आगामी आर्थिक वर्षदेखि पूर्वाधार कर वापतको रकम आयोजनाको खातामा नै जम्मा हुने गरी व्यवस्था भएको छ । यसबाट स्रोतको ठूलो जोहो हुनेछ । जलाशययुक्त आयोजना निर्माण गरी ऊर्जा सुरक्षालाई विशेष ध्यान दिन लागेको सरकारले बुढीगण्डकीलाई राष्ट्रिय गौरवका परियोजनामा सूचीकृत गरेको छ ।


Read Previous

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

Read Next

‘हिजो १५० रुपैयाँमा जलविद्युत आयाेजनाको अनुमतिपत्र दिएकै हो, समयानुकल संशाेधन गर्न सकिन्छ’ 

Leave a Reply

Your email address will not be published.