Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

जाजरकाेट भूकम्पपीडितका ११ हजार घर निर्माण   


काठमाडौं । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।

अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् ।

पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रुपैयाँ रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको बताए । त्यसमध्ये एक अर्ब ५३ करोड रुपैयाँ  जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने  ५८ करोड ७८ लाख रुपैयाँ बराबर रकम पठाइसकिएको उनले बताए ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय ८, सल्यानमा एक हजार ७ सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ गरी कुल ६७ हजार सात सय ८३ लाभग्राही कायम भएका छन् ।

अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ ।

लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिँने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए । उनले ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि ४ अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको बताए । त्यसमध्ये २ अर्ब २६ करोड रुपैयाँ रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनकाे भनाइ थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्‍याएको थियो ।


Read Previous

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

Read Next

स्थानीयद्वारा सुपरमाई जलविद्युत केन्द्रकाे उत्पादन बन्द,दैनिक ५ लाख आम्दानी गुम्दै

Leave a Reply

Your email address will not be published.