Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   


दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएकाे छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हाे ।

एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनक अनुसार यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।

पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२ दशमलव पाँच किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए ।

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा हटाइनेछन् । त्यसवापत रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने बताइएको छ ।


Read Previous

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

Read Next

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

Leave a Reply

Your email address will not be published.