
काठमाडौं, १३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये शनिबार बिहानसम्म ६१६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
बाढी प्रभावित विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।
प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य अझै जारी छ।
