
नीति तथा कार्यक्रम प्रस्तुत गर्दैं महानगर कार्यबाहक प्रमूख सुनिता डंगोल। तस्बीर: फोटो लाइब्रेरी।
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट सिर्जित मानवीय संकट व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएकी छन्।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार, राहत र पुनःस्थापनामा एकजुट भएर जुट्न आग्रह गरेकी हुन्।
उनले उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न, विस्थापित परिवारको पुनःस्थापना गर्न र त्रासमा रहेका नागरिकलाई सुरक्षित महसुस गराउने गरी मानवीय सहयोगमा जुट्न अपिल गरेकी छन्।
“यो दुःखलाई केवल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, जहाँबाट जसरी सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु,” डङ्गोलले भनेकी छन्।
उनले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आमनागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गरेकी छन्।
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्दै डङ्गोलले भूगोलले छुट्याए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्ने बताएकी छन्।
