Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   


काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर–दुल्लीकुना खण्ड र घाटपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल दुई सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ ।

रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत (च्याम्ताङ–घोङघप्पा खण्ड) १०.५१ किमी सडक निर्माण कार्य भइरहेको छ ।  २०७७ माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ ।

गत आवसम्म उक्त सडकको प्रगति ६.५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३.५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डको ११.५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ ।

लालिबगर–दुल्लिकुन्ना खण्डमा गत आवसम्म ६ किलाेमिटर घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा ३.५ किलाेमिटर ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर–दुल्लिकुन्ना खण्डमा २.५ किलाेमिटर नयाँ ट्र्याक निर्माण र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा १.५ किलाेमिटर ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई ६ सय ८२ किलाेमिटर छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५.५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा २.५ किलाेमिटर नयाँ ट्र्याक निर्माण र ३ किलाेमिटरकाे स्तरोन्नतिको लक्ष्य राखिएको छ ।

यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) सडक आयोजनाको कूल ४ सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आवसम्म १०.४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किलाेमिटर र  २ किलाेमिटर स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ ।

कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।

ती सडकको कूल लम्बाई एक हजार चार सय ११ किलोमिटर रहेको छ । सेनाले सुर्खेत–जुम्ला ८८ किलाेमिटर, बेनी–जोमसोम ९१ किलाेमिटर, छिन्चु–जाजरकोट ४५ किलाेमिटर, बेँसीसहर–चामे ६५ किलाेमिटर, नाङ्मा–गमगढी ९४ किलाेमिटर, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किलाेमिटर, मैलुङ–स्याफ्रुबेँसी १७ किलाेमिटर, जाजरकोट– डोल्पा (दुनै) एक सय १७.७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी–बागलुङ खण्ड) ७५.४ किमी र कर्णाली कोरिडोर (खुलालु–लैफु–सलिसल्ला खण्ड) एक सय २२ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्‍याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ ।


Read Previous

पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

Read Next

वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

Leave a Reply

Your email address will not be published.