Nepal Purbadhar

कालीगण्डकी काेरिडोरकाे विकल्पमा उपयाेग हुने कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण हुँदै


म्याग्दी ।  नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न तथा धौलागिरि क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउने बताएकाे छ । प्राधिकरणले ३७ किलाेमिटर लामाे १३२ केभी कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण गर्न लागेकाे हाे ।

गण्डकी प्रदेशकाे विद्युत प्रसारण लाइनको चक्र बनाउने गरी याे प्रसारण लाइन निर्माणका लागि पूर्व तयारीका कामहरू भइरहेकाे  आयाेजना प्रमुख राेशन अग्रवालले बताए । उनका अनुसार याे गण्डकी प्रदेशकाे विद्युत प्रसारणका लागि वैकल्पिक लाइन हुनेछ ।

अग्रवालले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत याे प्रसारण लाइनमार्फत प्रवाह गर्न सकिने बताए । साथै, यस क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बन्ने पनि उनले बताए ।

कालीगण्डकी काेरिडोरअन्तर्गत २२० केभी दाना-कुस्मा- न्यू बुटवल प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेकाे छ । कालीगण्डकी काेरिडाेर र वरपरका नदी वेसिनका आयाेजनाकाे विद्युत याे लाइनबाट साेझै न्यू बुटवल सबस्टेसन हुँदै चितवनकाे भरतपुरसम्म पुगिरहेकाे छ,’उनले भने,‘अब हामीले कुस्मा सबस्टेसनदेखि नयाँ माेदीसम्मकाे प्रसारण लाइन बनायाैं भने नयाँ माेदीदेखि ठूलाे चक्र तयार हुन्छ ।’

उनले कालीगण्डकी काेरिडोर प्रसारण लाइनमा समस्या आउँदा नयाँ मोदी हुँदै कुस्मा र नयाँ माेदीमा समस्या देखिँदा कुस्मा-न्यू बुटवल प्रसारण लाइनबाट वैकल्पिकरूपमा विद्युत प्रवाह गर्न सकिने बताए । प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुणस्तर सुधार हुने उनकाे भनाइ छ ।

यस्तै, यस क्षेत्रका जलविद्युतगृह पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने तथा आपूर्तिका कारणले विद्युुत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुपर्ने समस्या हट्ने पनि अग्रवालले बताए ।

कुस्मा-न्यू बुुटवल प्रसारण लाइन निर्माण पूरा नहुँदासम्म कुस्मादेखि  मोदी हुँदै नयाँ मोदी जोड्ने सिङ्गम सर्किट १३२ केभी प्रसारण प्रसारणबाट विद्युत् आपूर्ति गराउँदा म्याग्दी र मुस्ताङका जलविद्युत् केन्द्रकाे विद्युत बर्खामा खेर जाने गरेकाे थियाे ।

कुस्मादेखि माेदीसम्म  ६.२ किलोमिटर प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’ को बनाउने तथा तल्लो मोदीदेखि नयाँ मोदी ९ किलोमिटर लामाे डबल सर्किट नयाँ प्रसारण लाइन बनाइने अग्रवालले बताए ।

तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुआब्जा वितरणको तयारी गरिएको छ ।   कुस्मा- तल्लोमोदी-नयाँ मोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग ३५ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। सम्झाैता अनुसार अबकाे २१ महिनामा प्रसारण लाइन निर्माण पूरा गर्नु पर्नेछ ।


Read Previous

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

Read Next

वन समूहको सहयोगमा गाउँका एक सय घरमा बिजुली