Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा-न्यू बुटवल खण्ड सञ्चालन,खेर गइरहेको सय मेगावाट प्रणालीमा ल्याइयो


काठमाडौं । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा-न्यू बुटवल खण्ड सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको ८७ किलोमिटर लामो प्रसारण लाइन सोमबार राति ९.४० बजेबाट लोड दिएर चार्ज गरिएको हो ।

प्रसारण लाइनलाई २२० केभी कुस्मा सबस्टेसन र न्यू बुटवल सबस्टेसनसँग ‘सिन्क्रोनाइज’ गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि रातिबाट लोड दिएर चार्ज गरिएको न्यू बुटवल सबस्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिए ।

‘प्रसारण लाइन पहिले नै सञ्चालनका लागि तयारी अवस्थामा थियो,’ उनले भने, ‘प्रसारण लाइनलाई प्राविधिकरूपमा २ वटा सबस्टेसनसँग सिन्क्रोनाइज गरी सञ्चालन गर्नुपर्ने हुँदा सोमबारबाट लोड दिएर चार्ज गर्न सफल भएका छौं ।’

उनले प्रसारण लाइन सञ्चालनमा आएपछि न्यू बुटवल सबस्टेसन पनि २२० केभीमा सञ्चालनमा ल्याइएको बताए । यसअघि यो सबस्टेसनलाई १३२ केभीमा चार्ज गरिएपनि पूर्णरूपमा उपयोगमा आउन सकेको थिएन ।

प्रसारण लाइन र सबस्टेसन २२० केभीमा सञ्चालनमा आएसँगै कालीगण्डकी कोरिडोरका जलविद्युतगृहको खेर गइरहेको सय मेगावाट विद्युत प्रसारण प्रणालीमा ल्याइएको मिश्रले बताए । यसअघि प्रसारण लाइनको समस्याले ४२ मेगावाटको मिस्ट्री खोलासहितका जलविद्युत आयोजनाहरू बर्खामा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था थियो ।

कालिगण्डकी कोरिडोर प्रसारण लाइनको दाना–कुस्मा खण्ड पहिले नै सञ्चालनमा आइसकेपनि कुस्मा–न्यू बुटवल खण्ड तयार नहुँदा यस क्षेत्रमा उत्पादन भएको विद्युत कुस्माबाट १३२ केभी लाइनमार्फत लेखनाथ सबस्टेसन पुर्याउनुपर्ने अवस्था थियो । प्रसारण लाइनको क्षमताले नधान्दा बर्खामा विद्युत खेर जाने अवस्था थियो ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएसँगै कालीगण्डकी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत न्यू बुटवल सबस्टेसनसम्म ल्याई यहाँबाट १३२ केभी प्रसारण लाइनमार्फत चितवनतर्फ पठाइएको मिश्रले बताए ।

रुटमा देखिएको स्थानीय अवरोध, वन क्षेत्रको रुटमा रुख कटानको स्वीकृतिमा भएको ढिलाइ, कोभिड–१९ महामारी लगायत कारणले लक्ष्यभन्दा ढिलोगरी प्रसारण लाइन सम्पन्न हुन पुगेको हो ।

अब कालीगण्डकी नदी बेसिन तथा सहायक नदी खोलाका जलविद्युतगृहले उत्पादन गर्ने २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने कालीगण्डकी कोरिडोर प्रसारण लाइनका आयोजना प्रमुख चन्दनकुमार घोसले बताए । साथै, बुटवल पुगेको विद्युत भारततर्फ पनि निर्यात गर्न सम्भव हुनेछ ।

एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित न्यू बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ । ।

कालीगण्डकी बेसिन र सहायक नदी खोलाबाट उत्पादन भएको विद्युत स्थानीय क्षेत्रमा पनि वितरण गर्नका लागि कुस्मा र न्यू बुटवल सबस्टेसनबाट ३३/११ केभीको वितरण प्रणाली निर्माणको प्रक्रिया पनि अघि बढेको छ ।

स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि एडिबीकै सहुलियतपूर्ण ऋण सहयोगमा दुवै सबस्टेसनबाट वितरण प्रणालीको लाइन निर्माण गर्ने तय भइसकेको मिश्रले बताए । प्रसारण लाइनको २० किलोमिटर न्यू बुटवल–बर्दघाट खण्ड अहिले निर्माणाधीन छ । यो खण्डको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ ।


Read Previous

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

Read Next

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

Leave a Reply

Your email address will not be published.