Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण


काठमाडौं । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ । हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी शिव तिमल्सिनाले जानकारी दिए ।
डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उनले भने, ‘आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।’ उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ ।

अधिकांश भने साना पुल रहेका थिए । आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढि छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ । वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए । हरेक वर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उनको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भने, ‘खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।’ टेण्डर आह्वान गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए ।

त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ । बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन । गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए ।


Read Previous

बचत भएको विद्युत्मात्र निर्यात गरिने

Read Next

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा-न्यू बुटवल खण्ड सञ्चालन,खेर गइरहेको सय मेगावाट प्रणालीमा ल्याइयो

Leave a Reply

Your email address will not be published.