Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

भत्किएका सडकले होटेल व्यवसायमा समस्या


नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड । ज्ञवालीले भने, ‘विगतमा दिनमै रु ७०÷८० हजार सम्मको व्यापार हुन्थ्यो तर अहिले रु १२–१५ हजारसम्मको कारोबार हुन पनि गाह्रो भएको छ । कोही आउँछन् कि भनेर हेर्नुपर्छ । बाटो यस्तो धूलो छ । मान्छेलाई पनि कतिबेला गन्तव्यमा पुगौँ भन्ने हतार हुन्छ ।’

गैँडाकोट नगरपालिका–१६का होटेल व्यवसायी नारायणप्रसाद गौतमको गुनासो पनि उस्तै थियो । छ वर्ष विदेश बसेर नेपाल फर्किएका उनले स्वदेशमै उद्यम गर्ने सोचले होटेल सञ्चालन गरे । तर अहिले अवस्था सोचेजस्तो भएन। ‘१२ लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले लगानी उठाउन पनि मुस्किल परेको छ’, व्यवसयी गौतमले भने,‘यो सडकको अवस्थासँगसँगै हरेक दिन बढ्ने महङ्गीले पनि थप समस्या नित्याएको छ ।’ नारायणगढ–बुटवल सडकखण्डमा दिनहुँ हजारौँको सङ्ख्यामा सानादेखि ठूला सवारीसाधन ओहोरदोहोर गर्छन् । छ लेनको सडक बनाउन सडक भत्काएको चार वर्ष पूरा भयो । सम्झौताअनुरूप समयमै सडक नबन्दा धुलोले यात्रुलाई मात्र होइन, सडक नजिकै रहेका होटेल व्यवसायलाई समेत असर गरेको छ ।

कोरोनाका कारण सुस्ताएका जिल्लाको होटेल व्यवसाय, अहिले पूर्व–पश्चिम राजमार्गका कारण झन् सुस्ताएका छन् ।सडकमा उड्ने धुलो र धुँवाका कारण होटेलमा ग्राहकको सङ्ख्या घट्न थालेका छन् । समयमै सडक निर्माण नहुनु, रोजगारीका लागि युवा पुस्ता विदेिशनुलगायत कारणले पनि होटेल व्यवसायी मारमा परेको नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष यमप्रसाद न्यौपानले बताए । कावासोती नगरपालिका–८ मा होटेल नयाँ थाली सञ्चालन गरेका उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भन्दा २०७९/८० मा व्यापार ४५ प्रतिशत घटेको छ । ‘धुलोका कारण मोटरमा हिँड्ने पर्यटक जहाजमा हिँड्न थालेका छन् । कमाउने र रमाउने युवा विदेशमा छन् । अनि हाम्रो होटेल कसरी चल्छ । हामीजस्तो मारमा अहिले कोही छैन् होला’, न्यौपानेले भने ।

कुनै समय ग्राहकले भरिभराउ देखिने राजमार्ग आसपासका होटल पछिल्लो समय शून्यजस्तै देखिएका छन् । जिल्ला सदरमुकामसमेत रहेको कावासोती बजार क्षेत्रमा लाखौँ लगानीमा खुलेका होटल धमाधम बन्द हुने क्रम बढेको उनको गुनासो थियो । भत्किएको सडकमा गाडी गुड्दा उड्ने धुलो र धुवाँले यात्रा गर्न सकस हुँदा होटेलमा पाहुना नआउने अवस्था सिर्जना भएको नवलपुर होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष रानाले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा धेरै पर्यटकीयस्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन छाडेका छन् । जिल्लामा होटेल व्यवसायी पलायन हुने क्रम बढेको अध्यक्ष रानाले बताए ।


Read Previous

मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने

Read Next

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

Leave a Reply

Your email address will not be published.