Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण


ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरो पीडित ६५ घरपरिवारलाई आज एक कार्यक्रमका बीच उक्त आवास कक्ष हस्तान्तरण गरिएको हो । गत साउन ७ गतेदेखि सुरु गरी दुई महिनामा अस्थायी आवास निर्माण सम्पन्न गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । पालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्तरुपमा आवास कक्ष हस्तान्तरण गरेका थिए ।

वडा नं ४ ओदकका ६२, ताम्राङका दुई र वडा नं ३ का एक परिवार गरी अस्थायी एकिकृत आवास स्थलमा ६५ परिवार रहेका अध्यक्ष वनेमले बताए । उनका अनुसार ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई लिम्बू समुदायका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास स्थल निर्माणका लागि दातृ निकाय, विभिन्न संस्था तथा व्यक्तिमार्फत ५५ लाख ९२ हजार सात सय ७० रुपैयाँ सहयोग प्राप्त भएको थियो । “टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यमार्फत श्रमदानसहित ६८ लाख एक हजार रुपैयाँ र गाउँपालिकाका तर्फबाट २६ लाख ६० हजार १७ रुपैयाँ गरी कूल एक करोड ५० लाख ५३ हजार सात सय ८७ रुपैयाामा आवास निर्माण गरिएको हो”, उनले बताए ।

औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि दुई लाख ३१ हजार पाँच सय ९६ रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ । आवास स्थलमा पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६, आठ जनासम्म सदस्य भएकाका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि छ वटा अस्थायी घर बनेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार ३६ शौचालय र १८ धारा निर्माण गरिएका छन् । गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार प्रकट गरेको छ । गत असार २ गतेदेखि आएको अविरल बर्षापछि गएको बाढीपहिरोका कारण ताप्लेजुङका अधिकांस पालिकामा क्षति पुगेको थियो ।


Read Previous

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित

Read Next

महिलाको आर्थिक सशक्तिकरणका लागि लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालासँग संवाद

Leave a Reply

Your email address will not be published.