Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता


भोजपुर । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता मिलेको छ । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकामा अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको उनले बताए । सडक विस्तारले नयाँ पुस्ताको दुःखका दिनको अन्त्य भएको उनको भनाइ छ ।

‘हाम्रो पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने मलाई लागेको थिएन’, उनले भने, ‘भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खान्थ्यौं । त्यो समयमा धेरै दुःख थियो । अहिले घरको करेसामा बाटो छ । सडक विस्तारले हामीलाई सहज बनाएको छ ।’ त्यो समयमामा धरान चतरामा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।

सदरमुकामबाट जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी टङ्कप्रसाद घिमिरेले बताउँछन् । सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ । ‘सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको छ’, उनले भने, ‘अहिले खाद्य सामग्री बोकेर हिँड्न पर्दैन । सहजरूपमा गाउँघरमा पाउने अवस्था छ । सडकका कारण यहाँका कृषि उपज बाह्य बजारमा जान थालेको अवस्था छ ।’

विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो । धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको स्थानीय जानकार गणेश श्रेष्ठले बताउँछन् ।


Read Previous

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

Read Next

नेपालमा नवीकरणीय ऊर्जाकाे विकास गर्न दुगड र टाटा पावरबीच सहमति

Leave a Reply

Your email address will not be published.