Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सडक हिलाम्मे हुँदा नवलपुरमा यात्रा सकसपूर्ण


नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरुलाई अप्ठ्यारो भएको छ ।

कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब दुई घण्टा लाग्ने गरेको गुनासो गर्छन् । “दूरीको हिसाबले जम्मा ३० किलोमिटर छ, कावासोतीबाट मोटरसाइकल लिएर नारायणगढ पुग्दा दुई घण्टा लाग्छ”, उनले भने, “सडकमा ठूल्ठूला खाल्डा बनेका छन्, पानी परेको बेलामा खाल्डा नदेख्दा बाइक ती खाल्डोमा पर्छ ।”

बर्खाको समयमा सडकमा बनेका खाल्डाखुल्डी नपुरिदिँदा साना सवारीसाधनलाई यस सडकमा आवतजावत गर्नै समस्या हुने गरेको व्यवसायी सुवेदी बताउँछन् । “पसलको सामान लिन नारायणगढ पुग्यो, उहाँ पुग्दा पूरै हिलैहिलो भइन्छ”, अझ अगाडि उनी भन्छन्, “आफ्नै सवारीसाधनमा जाँदा त दुई घण्टा लाग्छ, यस मार्गमा चल्ने बसमा नारायणगढ पुगेर आउँदा पूरै दिन लाग्छ ।”

बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ । नारायणगढ–नेपालगञ्ज मार्गमा चल्ने यात्रुवाहक बसका सञ्चालक यदुनाथ खरेल यो बाटोमा नयाँ गाडी हालेको एक वर्षमै पुरानो भएको गुनासो गर्छन् । सडकका खाल्डाखुल्डीका कारण पार्टपुर्जा बिग्रिने र भाँचिने समस्या समेत आउने गरेको सञ्चालक खरेलको भनाइ छ ।

“नारायणगढबाट बुटवलसम्मको एक सय १३ किलोमिटर सडक पार गर्न बर्खाको समयमा सात घण्टासम्म लाग्छ । सडक निर्माण गर्नुपर्ने अवस्थामा पुगे पनि खाल्डाखुल्डी पुरिदिए मात्र हामीलाई धेरै सहज हुने थियो”, खरेलले भने । सडक विस्तारको काम सुरु गर्नुअघिसम्म नारायणगढबाट बुटवल पुग्न जम्मा दुई घण्टा लाग्थ्यो ।


Read Previous

इपान पदाधिकारीसँग गृहमन्त्रीले भने- ‘सरकारले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा गर्छ’

Read Next

भार्लाङमा सिँचाइ सुविधापछि बाहैमास तरकारी खेती

Leave a Reply

Your email address will not be published.