Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

इपान पदाधिकारीसँग गृहमन्त्रीले भने- ‘सरकारले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा गर्छ’


काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का पदाधिकारीहरूसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् ।

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको मन्त्री श्रेष्ठले बताए । इपान पदाधिकारीले पनि सुशासनको अभियान सुरु गरेकोमा धन्यावद दिए ।

भेटमा इपान अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरे  । साथै, बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजिकरण गरिदिन आग्रह गरे ।

इपान र बीमा प्राधिकरणबीच पनि भेटवार्ता

इपान पदाधिकारी र बीमा प्राधिकरणबीच पनि भेटवार्ता भएको छ । उक्त भेटमा बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले इपानको सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिकाहरु जारी गर्ने बताएका छन् ।

पछिल्लो समय बीमा प्राधिकरणले ‘निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको न्युनतम प्रिमियम सम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै एकतर्फी रुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इपानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ । उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इपानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गर्दै आइरहेको छ ।

यो बीचमा निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघ र इपानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि २/३ पटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुन सकेको छैन । जसका कारण कतिपय नविकरण गर्नुपर्ने नीतिहरु नविकरण गरिएको छैन । र, नयाँ नीति पनि जारी भएको छैन ।


Read Previous

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

Read Next

सडक हिलाम्मे हुँदा नवलपुरमा यात्रा सकसपूर्ण

Leave a Reply

Your email address will not be published.