Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

विद्युत प्राधिकरणद्वारा ४ कर्मचारीलाई विशेष सम्मान,सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना र २२ कार्यलय सम्मानित


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने ४ जना कर्मचारीलाई विशेष सम्मान गरेको छ । प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नगद ५० हजार रुपैयाँ र सम्मानपत्रबाट सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई विशेष सम्मान गरेको हो ।

विशेष सम्मान पाउनेमा कालीगण्डकी जलविद्युत केन्द्रमा कार्यरत उपप्रबन्धक पशुपतिराज गौतम र गोकुलप्रसाद बुढासैनी छन् । गौतमलाई कालीगण्डकी जलविद्युत केन्द्रको युनिट–१ को ५६.५ एमभिए तथा १३.८ केभीको समस्याग्रस्त जेनेरेटर मर्मत विद्युत प्राधिकरणकै आन्तरिक स्रोतबाट गर्न सफल भई मर्मत खर्च र उत्पादन ह्रासमा बचत गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कदर स्वरुप नगद ५० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

गौतमसँगै कार्य गरेका बुढासैनीलाई पनि नगद ५० हजार रुपैयाँ र सम्मानपत्र दिइएको छ । जलविद्युत केन्द्र स्वचालन आयोजनाका सहायक प्रबन्धक उमंग कार्की र मध्य मस्र्याङ्दी जलविद्युत केन्द्रका सहायक इन्जिनियर दीपकप्रसाद बस्याललाई पनि विशेष सम्मान गरिएको छ ।

विद्युत प्राधिकरण सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले दक्षता, क्षमता र अनुभवबाट आकस्मिक रूपमा सृजना भएका समस्या समाधानमा विशेष योगदान गर्ने कर्मचारीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

यस्तै, वर्षभरी सवोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना कर्मचारी पनि नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित भएका छन् । यो सम्मान पाउनेमा कुलेखानी दोस्रो जलविद्युत केन्द्रका उपप्रबन्धक प्रल्हाद राउत रहेका छन् ।

उनलाई जापानी उत्पादक कम्पनीको सुपरीवेक्षण बिना नै प्राधिकरणको आन्तरिक जनशक्तिबाट टर्वाइन इन्लेट भल्भको ‘डिसमेन्टर र एसेम्ली’ मर्मत गरी प्राधिकरणको व्यावभार घटाएको सम्मान स्वरुप सम्मानित गरिएको हो ।

उनले लामो समयदेखि बाँकी रहेको जटिल कार्य तथा अन्य मर्मत सम्भारको कार्य एउटै सर्टडाउनमा कुशलतापूर्वक सम्पन्न गरेका थिए । साथै राउतले आफ्नो प्राविधिक क्षमताबाट विभिन्न जलविद्युत केन्द्रका समस्या समाधानमा पनि उल्लेख्य भूमिका खेलेका छन् ।

यस्तै, सहायक प्रबन्धहरू सिन्धु देवकोटा, प्रकाश गौडेल, कमल पौडेल, इन्जिनियर गजेन्द्रनारायण यादव, इन्जिनियर सुस्वभित दुवा, इन्जिनियर सुजन खड्का, सहायक लेखा अधिकृत रमेश पराजुलीलाई पनि प्राधिकरणले सम्मान गरेको छ ।

विद्युत व्यापार विभागकी सहायक प्रबन्धक देवकोटालाई उनले विद्युत खरिद सम्झौता (पिपिए) भएका विद्युत आयोजनाको नियमित अनुगमन तथा सुपरिवेक्षण तथा पिपिए गर्न एवं विद्युत व्यापार सम्बन्धि कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कदर स्वरुप सम्मान गरिएको हो ।

वातावरण अध्ययन महाशाखाका सहायक प्रबन्धक गौडेललाई २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइन आयोजनाको सम्पूर्ण प्रभाव मुल्यांकन तथा जैविक विविधता अध्ययन टोलीको नेतृत्व गर्दै कार्यसम्पादन गरेकोमा सम्मान गरिएको हो । पौडेललाई केन्द्रीकृत लेखा प्रणालीमार्फत करिब ६ हजार ५ सय कर्मचारीको लेखा हिसाब अध्यावधिक गरेको कदम स्वरुप सम्मान गरिएको छ ।

यस्तै, इन्जिनियर गजेन्द्रनारायण यादवलाई तामाकोसी–काठमाडौं २२० केभी प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको क्षतिपूर्तिका सम्बन्धमा सामाजिक समस्या समाधान गरेको कदर गर्दै सम्मान गरिएको छ । पोखरा ग्रिड शाखाका यन्जिनियर सुस्वभित दुवालाई सो शाखा अन्तर्गतका सम्पूर्ण सबस्टेसन र प्रसारण लाइनको मर्मतमा महत्त्वपूर्ण भूमिका खेलेकाले सम्मान गरिएको छ ।

बझाङ वितरण केन्द्रका इन्जिनियर सुजन खड्काले बन्द अवस्थाको लघु जलविद्युत केन्द्रको मर्मत गरी विद्युतगृह सञ्चालमा ल्याएको कदर गर्दै सम्मान गरिएको छ । केन्द्रीय स्टोर हेटौंडामा कार्यरत सहायक लेखा अधिकृत रमेश पराजुलीले स्टोरमा लागेको आगलागी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरी ठूलो क्षति हुनबाट जोगाएको तथा प्राधिकरणको अतिक्रमित जग्गा फिर्ता ल्याउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको छ ।

यस्तै, सहायक कम्प्युटर अधिकृत युवराज न्यौपाने, सहायक कम्प्युटर विद उमेश विष्ट, सहायक इन्जिनियर गंगाकुमार गुरुङ, फोरमेन सुबोध अधिकारी र पदमबहादुर बुढालाई पनि सम्मान गरिएको छ । ३ तहका तेजबहादुर जिरेल, २ तहका कार्यलय सहयोगी रामु चौधरी सम्मानित भएका छन् ।

सम्मानित हुने सबै कर्मचारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले पुरस्कार राशी र सम्मानपत्र प्रदान गरे । कर्मचारीसँगै उत्कृष्ट कार्यसम्पादन गर्ने २२ वटा कार्यालय पनि सम्मानित भएका छन् ।


Read Previous

कार्यसम्पादन कर्मकाण्डी होइन, एक्शन ओरिएन्टेड बनाउनुहोस्– मन्त्री ज्वाला

Read Next

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

Leave a Reply

Your email address will not be published.