
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभामा बजेट छलफल अवरुद्ध गरिएर आफूलाई लक्षित गरी गलत प्रचार गरिएको उल्लेख गरे। उनले त्यसको जवाफ दिनका लागि नै संसदीय समितिमा उपस्थित भएको बताए।
“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री वाग्लेले भने, “त्यसको जवाफ दिन पनि म संसदीय समितिमा आएको हुँ।”
अर्थमन्त्री वाग्लेले यस्तो आक्रमण “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूह” बाट भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।
उनका अनुसार सरकार अहिले उक्त वित्तीय अपराधसँग सम्बन्धित विषयमा छानबिन गरिरहेको छ र सो मुद्दा केही दिनभित्र अदालतसम्म पुग्ने तयारीमा रहेको छ।
“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” वाग्लेले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ।”
उनले आफू र प्रधानमन्त्रीविरुद्ध भइरहेको आलोचना तथा आक्रमण ती नै छानबिनमा परेका समूहबाट प्रेरित हुन सक्ने शंका व्यक्त गरे।
साथै अर्थमन्त्री वाग्लेले सांसदहरूलाई यस्ता समूहबाट फैलाइएका भनाइ र प्रभावमा नपर्न आग्रह गर्दै संसदको गरिमा जोगाउनुपर्नेमा जोड दिए। उनले हल्ला र प्रभावका आधारमा संसद कमजोर बनाउन नहुने बताएका थिए।
उनको भनाइपछि अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा राजनीतिक र आर्थिक पारदर्शितासम्बन्धी बहस थप चर्किएको छ।
