Nepal Purbadhar

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’: दुई देशीय निजी क्षेत्रबीच सहकार्य विस्तारमा जोड


काठमाडौं। स्पेनको राजधानी म्याड्रिडमा आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा नेपाली निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको छ ।

म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त फोरमको उद्देश्य दुई देशबीच व्यापार तथा लगानी सहकार्यलाई विस्तार गर्दै व्यावसायिक सम्बन्धलाई नजिक ल्याउनु रहेको थियो । कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी, लगानीकर्ता तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फोरमको उद्घाटन सत्रमा कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाल र स्पेनबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने र सहकार्यका सम्भावित क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले नैतिक रूपमा प्राप्त कच्चा पदार्थ र स्वदेशी प्रविधिमा आधारित नेपाली उद्योगहरूको परिचयसमेत गराए ।

नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाल–स्पेन वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनको सम्भावना उच्च रहेको बताए । उनले स्पेनी उपभोक्तालाई आकर्षित गर्न सक्ने विभिन्न नेपाली तयारी पोसाक तथा वस्त्र उत्पादनबारे जानकारी दिए ।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे र उपाध्यक्ष देवनन्द सरावगीले नेपाल–स्पेन व्यापारको ऐतिहासिक पृष्ठभूमि र संरचनाबारे प्रस्तुति दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, भाङ र सिस्नोजस्ता प्राकृतिक रेसाबाट बनेका नेपाली वस्त्र तथा गहनाको प्रतिस्पर्धात्मक विशेषताबारे प्रकाश पारे । उनीहरूले हस्तनिर्मित चाँदीका गहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय बजारमा बढ्दो आकर्षण रहेको उल्लेख गरे ।

नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले कानुनी तथा नीतिगत सुधारका कारण पछिल्ला वर्षहरूमा नेपाली तयारी पोसाक उद्योगमा उल्लेखनीय प्रगति भएको बताए । उनले दुवै देशका निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलताबारे जानकारी दिँदै स्पेनी उपभोक्ताहरू अन्तर्राष्ट्रिय विशिष्ट उत्पादनप्रति आकर्षित हुँदै गएको बताए । उनले व्यवसाय–व्यवसायबीच साझेदारी विस्तार भएमा नेपाल–स्पेन व्यापार सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रश्नोत्तर तथा नेटवर्किङ सत्रसहित सम्पन्न कार्यक्रममा स्पेनका वस्त्र तथा गहना उद्योगका प्रतिनिधि, लगानी प्रवर्द्धन निकाय, सरकारी अधिकारी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ ।


Read Previous

इप्पानका अध्यक्ष मोहन डाँगीलाई प्रश्न- ऊर्जामन्त्री बनाएर एउटा निर्णय गर्न दिए के गर्नुहुन्थ्यो ?

Read Next

रास्वपा महाधिवेशनमा प्रधानमन्त्री सचिवालयसँग जोडिएका अनुहार को को छन् चर्चामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar