
जुम्ला। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जासम्बन्धी ९४ वटा योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको जनाएको छ।
कार्यालयका अनुसार कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृत ९४ योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेका छन्। तीमध्ये हालसम्म ५० वटा योजना सम्पन्न भइसकेका छन्। बाँकी नौ वटा योजना ठेक्का प्रक्रियामार्फत सञ्चालन गरिएकामा सात वटा सम्पन्न भएका छन्।
यस वर्ष सञ्चालनमा रहेका योजनामध्ये आठवटै स्थानीय तहमा ७३ वटा क्रमागत सिँचाइ योजना, १७ वटा तटबन्धन योजना तथा २५ वटा खानेपानी योजना समावेश छन्। कार्यालयले यी योजना आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ।
कार्यालयका अनुसार खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा क्षेत्रका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ। सिँचाइ आयोजनाबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भई कृषि उत्पादन वृद्धि गर्न सहयोग पुगेको बताइएको छ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कार्यालयले कुल पुँजीगत बजेटको करिब ५० प्रतिशत खर्च गरिसकेको जनाएको छ।
