Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

पोखरामा बन्यो देशकै तेस्रो ठूलो भण्डारणगृह


पोखरा । नेपाल आयल निगमले पोखरामा देशकै तेस्रो ठूलो भण्डारण गृह निर्माण गरेको छ । निगमले पोखरा क्षेत्रको वितरण सहज बनाउन १० हजार किलो लिटर (१ करोड लिटर) क्षमताको भण्डारणगृह निर्माण गरेको हो ।

नवनिर्मित भण्डारणगृहको सोमबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । ३ महिनालाई पुग्ने इन्धनको भण्डारण पूर्वाधार विस्तार गर्ने सरकारको नीति अनुरूप निगमले दुुई दशकपछि पोखरामा यति ठूलो भण्डारणगृहको संरचना बनाएको हो । यो भण्डारणगृहमा डिजेल भण्डार गरी वितरण गरिनेछ ।

भण्डारणगृहको उद्घाटन गदै मन्त्री रिजालले पेट्रोलियम पदार्थको आपूर्ति गरी संचित गर्न पूर्वाधार थपिएको बताए । उनले भण्डारणगृह थपिँदा पेट्रोलियम ऊर्जामा हुने पहुँच अभिवृद्धिले औद्योगिक विकासलाई अगाडि बढाउन तथा नागरिकको जीवनस्तर सुधार गर्न एवं नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘ऊर्जा पूर्वाधारसुदृढ गर्ने र राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने कुरामा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यही अनुरुप पोखरामा यति ठूलो संरचना निर्माण भएको छ । यसले पोखराको मात्र नभई देशकै पेट्रोलियम वितरण प्रणालीलाई सहज बनाउनेछ ।’

सोही अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले उच्च क्षमताको पेट्रोलियम भण्डारणगृह निर्माण गर्दा ऊर्जा सुरक्षामा पनि ध्यान पुर्याउनु पर्ने बताए । उनले पोखरामा थपिएको पेट्रोलियम भण्डारणगृहले पोखराबासीलाई मात्र गण्डाकी प्रदेशका अन्य जिल्लाको इन्धन आपूतिलाई पनि सहज बनाउने बताए ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पेट्रोलियम खपत बढाउनु भन्दा अब नवीकरणीय ऊर्जा खपत वृद्धि गरी आयात प्रतिस्थापन गर्ने दिशामा अगाडि बढ्नु पर्ने बताए । उनले नेपालमा जलविद्युत उत्पादनको अधिक सम्भवना रहेकाले आयातित इन्धनभन्दा विद्युत खपत वृद्धि गर्ने गरी अगाडि बढ्नु पर्ने बताए । उनले पेट्रोलियम खपतबाट भइरहेको प्रदुषण नियन्त्रण गर्नका लागि पनि निगमले काम गनुपर्नेमा जोड दिए ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पोखरामा भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशकै इन्धन बिक्री वितरण सृदृढ बनाउने बताए । उनले भण्डारणगृहको विस्तारसँगै देशभर डिजेलको भण्डारण क्षमता५४ हजार किलोलिटर पुगेको र यसले १५ दिनको राष्ट्रिय माग धान्ने बताए । नवनिर्मित भण्डारणगृह जर्मन प्रविधिबाट निर्माणगरिएको पनि उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १० हजार किलोलिटर इन्धनको भण्डारण क्षमता थपिनुले पोखरा क्षेत्रको पूर्वाधार विकास तथा पेट्रोलियम वितरण सहज हुने बताए ।

निगमले २०५६ यता पोखरामा नयाँ भण्डारणगृह निर्माण गर्न सकेको थिएन । इन्धन भण्डारणगृह नहुँदा आपूर्तिमा व्यवस्थापन असहज भई बजारमा अभाव सृजना हुने गरेको थियो । अहिले देशभरमा ६८ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेकोमा थप १० हजार किलोलिटर डिजेलको भण्डारण क्षमता थपिएको हो ।

नवनिर्मित भण्डारणगृह कूल ८९ करोड रुपैयाँ (ब्याज बाहेक) लागतमा निर्माण सम्पन्न गरिएको हो । निगमको पोखरा प्रादेशिक कार्यालय परिसरको७७ रोपनी जग्गामा ५ हजार किलो लिटर क्षमताका २ वटा भण्डारणगृह बनाइएको छ । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ सय किलाटिर (२४ लाख लिटर) को पानी भण्डारण ट्याङ्की पनि निर्माण गरिएको छ ।

समानान्तर रेलिगियर भारत ट्याङ्क्स जेभीले इपिसि मोडलमा भण्डारणगृह निर्माण गरेको हो । यो भण्डारणगृह निर्माण थालेको २ वर्षमा सम्पन्न भएको हो ।नवनिर्मित भण्डारणगृहमा यसै साताबाट डिजेल भर्न सुरु गरिने निगमले जनाएको छ ।

यसअघिसम्म पोखरामा भएका डिजेल भण्डारणगृहको क्षमता एक सातालाई पुग्ने मात्रै थियो । पोखराबाट सामान्य अवस्थामा डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ सय किलोलिटरका ३ वटा भन्डारणगृह निर्माण गरिने, सोमबार नै शिलान्यास

निगमले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारणगृ डिपो निर्माण गर्ने भएको छ । यो विमानस्थलमा उडान भर्ने विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नयाँ १२ सय किलोलिटर क्षमताका ३ वटा भण्डारणगृह निर्माण गर्न लागिएको हो । हालको भण्डारण क्षमता न्युन रहेकाले आपुुर्ति व्यवस्था सहज बनाउन उच्च क्षमताको नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको हो ।

निर्माण हुने भण्डारणगृहको सोमबार नै मन्त्री रिजालले शिलान्यास गरेका छन् । यो भण्डारणगृह निर्माण गर्न समानान्तर रेलिगेर ट्याङ्क्स जेभीसँग ७७ करोड रुपैयाँमा इपिसी ठेक्का सम्झौता भइसकेको छ ।
ठेकेदार कम्पनीले अब निर्माण सुरु गरी २ वर्षमा सम्पन्न गर्ने तालिका दिइएको छ । हवाई इन्धन भण्डारणगृहसँगै १५ सय किलोलिटरको फायर वाटर ट्याङ्क पनि निर्माण गरिनेछ ।

नेपाल नागरिक उड्यन प्राधिकरणको ९ हजार १२५ वर्गमिटर जग्गा भाडामा लिई भण्डारणगृह निर्माण गर्न लागिएको आयोजना प्रमुख भरत रेग्मीले जानकारी दिए । उनका अनुसार यो भण्डारणगृह निर्माण भएपछि विमानस्थलका लागि १महिनालाई पुग्ने हवाई इन्धन संचित गर्न सकिने रेग्मीले जानकारी दिए ।

डिपो निर्माण पुरा भएपछि यस क्षेत्रमा एक महिनालाई हवाई इन्धनको माग धान्ने निगमले जनाएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ भण्डारणगृ निर्माण गर्न लागिएको हो । पुरानो पोखरा विमानस्थलमा हाल २८० किलोलिटर क्षमताको हवाई इन्धन भण्डारणगृह रहेको छ । निगमले अहिले त्यहाँबाट ढुवानी गरी अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई वितरण गर्ने गरिएको छ । पोखरा विमानस्थलमाप्रतिदिन २० देखि ३० किलोलिटर हवाई इन्धन वितरण हुने निगमले जनाएको छ ।


Read Previous

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने

Read Next

युएन फोरममा आयोग उपाध्यक्षको सम्वोधन, एलडीसीलाइ नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा सहयाेग गर्न आब्हान

Leave a Reply

Your email address will not be published.