Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बाढी पहिरोको कारण दर्जनौं पूर्वाधार परियोजनामा क्षति, मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध, प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । देशका पूर्वी क्षेत्रमा पर्ने जिल्लाहरुमा हिजो राति आएको बाढी र पहिरोले दर्जनौं जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ ।

बाढी पहिरोबाट केहीको ज्यान गएको, केही बेपत्ता भएको, कम्तिमा पाँचवटा मोटर पुल र बेलिब्रीज तथा मेचि राजमार्ग लगायत सडकहरु क्षतिग्रस्त भई यातायात अबरुद्ध भएको छ। त्यस्तै, वर्षातले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रधानमन्त्रीको ध्यानाकर्षण

सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराए । साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरे ।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए । बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले जानकारी दिए ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भत्किएका सडक तथा पूल संरचनाहरु मर्मत गरी तत्काल यातायात सुचारु गर्न मन्त्रालयका संयन्त्रहरु परिचालित गरीसकेको जानकारी गराएका छन् ।


Read Previous

गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

Read Next

‘स्मार्ट’ बत्तीले झलमल पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *