Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैंमा धमाधम हटाइँदै अव्यवस्थित तार


काठमाडाैं । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ।

तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताइन् ।

‘अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ’ उनले भनिन् ।  बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ । सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् ।

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँबानेश्वरका स्थानीय मुकेश हमालले बताए । ‘तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ’ उनले भने ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए । रासस


Read Previous

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

Read Next

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published.