Nepal Purbadhar

मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो


तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।

तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए ।  विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उनले जानकारी दिए ।

पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ ।

‘नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ’, प्रमुख फुँयालले भने, ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।’

यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए ।  यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएकोे छ ।


Read Previous

सुन्धारा सेक्यूरिटीजकाे दोस्रो शाखा जितपुर सिमरामा

Read Next

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा