Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

हेटौंडा सिमेन्ट उद्याेगकाे उत्पादन बन्द, सञ्चालन हुन एक साता लाग्ने


मकवानपुर । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले शुक्रबारदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि उद्योग बन्द गरिएकाे हाे ।

सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनकाे भनाइ छ ।

विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो । तर, हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको बताए ।

सञ्चालन हुँदा उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको थियाे । साथै, हेटौंडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्री वितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । बन्द हुनुअघिसम्म उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको थियाे ।

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको व्यवस्थापनले जनाएको छ । सरकारले २०३२ सालमा स्थापना गरेकाे याे उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । उद्याेगमा अहिले करिब ३ सय जना कार्यरत  छन् ।


Read Previous

निर्माण थालेकाे २ दशकछि धोबीखोला करिडोर ९६ प्रतिशत पूरा 

Read Next

मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै

Leave a Reply

Your email address will not be published.