Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गरौंः वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तदनुरुप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्रयाकमा लैजान सकिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छैठौँ प्रदेश सभाको समुद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरु सकारात्मक देखिएकाे बताए । ‘रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको संख्या बढेको छ । बैंकमा तरलता पनि बढेको छ । त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ’ उनले भने ।

उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको उल्लेख गरे ।

‘कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरुका कारणहरुले वा रसिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रवाभित हुन गएको छ । व्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको संकट पार लगाउन सकिन्छ भन्ने नीतिहरुका कारण अहिलेको समस्या आएको हो । ती सबै नीतिहरु निष्प्रभावित रहे’ उनले भने ।

अब अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु देखिएका छन् । यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिने उनकाे भनाइ छ ।  अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

‘अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकिङ्ग क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ । सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ’ उनले भने । उनले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरुमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै यस गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिए ।


Read Previous

वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डले गरे २ अर्बको संयुक्त लगानी

Read Next

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन

Leave a Reply

Your email address will not be published.