Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री


काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जाेड दिएका छन् । निर्माणाधी आयोजनामा राज्यको धेरै लगानी भइसकेकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको जानकारी गराए । जवाफमा महासंघ अध्यक्ष सिंहले ऐन कानून अद्यावधिक गर्दा महासंघ लगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल गर्न मन्त्री खानको ध्यानाकर्षण गराए ।

महासंघले मन्त्री अब्दुल खान समक्ष निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे अवगत गराएको छ । मन्त्री खानसँगको भेटमा अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने बताए ।

मोबिलाइजेशन पेश्कीको दुरुपयोग गर्नेलाई कानून अनुसार कार्वाही गर्न सकिने भन्दै अध्यक्ष सिंहले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूलाई ठूलो आर्थिक मार परेको जानकारी  दिए ।

व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको प्रति अध्यक्ष सिंहले मन्त्री खानको गम्भीर ध्यानाकर्षण गराए ।  महासंघले क्रसर उद्योग संचालनमा देखिएको समस्या, धरौटी रकम फिर्ता, ५ प्याकेजको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा पनि आफ्नो लिखित धारणा मन्त्री खान समक्ष पेश गरेको छ । महासंघ प्रतिनिधिमण्डलले मन्त्री खानको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू अशोक कुमार केसी, प्रमोद लामिछाने र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।


Read Previous

ठेक्का लिएको सात वर्षसम्म भेरी नदीमा पुल बनेन

Read Next

सुन्दर यातायातको विद्युतीय बस सेवा र चार्जिङ स्टेशन बन्द

Leave a Reply

Your email address will not be published.