Nepal Purbadhar

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै


चितवन । नारायणगढ–गोन्द्राङ ६लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो ।

कार्यालयले २ पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् ।

सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या १ सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको छ ।

पौडेलका अनुसार आगामी साताबाट घर भत्काउन थालिने भएको छ । हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइँदैछ । ‘आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घरटहरा भत्काउन सुरु गर्छाै’ उनले भने ।

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको जानकारी दिए ।  सो सडक विस्तारको काम भइरहेको छ ।

प्रजिअ अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताए । ‘उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौँ ‘ उनले भने । भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन् ।

घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् । रासस


Read Previous

फाइभजी मोबाइल नेटवर्कको परीक्षण माघमा

Read Next

सिरहाकाे दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीयले मनाए खुसी