Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

कालीगण्डकी करिडोरकाे बागलुङ–गुल्मी सडक खण्डमा कालोपत्रे


बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ ।

कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले बताए ।

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का–कृष्ण बिएन जेभीले काम सुरु गरेको छ ।

मालढुङ्गाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ । २ वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र भइसक्ने उनले जानकारी दिए ।

त्यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । ३ अर्ब ३० करोडमा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए ।

कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीधाम, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् ।

उक्त करिडोरमा विभिन्न स्थानमा गरी १४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको दक्षिणी सीमा भारतको सुनौलीबाट र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ ।


Read Previous

ईफाप्कामा नेपालको नेतृत्व र अब उठाउनुपर्ने पूर्वाधारका एजेण्डा

Read Next

शिलान्यासकाे २ दशकपछि धनकुटाकाे खाल्सामा कालोपत्रे सुरु

Leave a Reply

Your email address will not be published.