Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बिजुली आयातका लागि प्रस्ताव गरेका बोलपत्रकर्ताको कायम रहने अवधि एक महिना थप


काठमाडौं । आगामी डिसेम्बरदेखि मे महिनासम्मका लागि बिजुली आयात गर्ने उद्देश्यसहित आह्वान गरेको बोलपत्रको कायम रहने अवधि एक महिना थप गर्न नेपाल विद्युत प्राधिकरणले बोलपत्रकर्तालाई पत्र पठाएको छ ।

३ सयदेयिख ५५० मेगावाटसम्म बिजुली आयातका लागि बोलपत्र आह्वान गरेकोमा प्रस्ताव गरेका चार बोलपत्रकर्तालाई प्राधिकरणले कायम रहने अवधि (बिड भ्यालिटी डेट) एक महिना थपका लागि पत्राचार गरेको हो । विद्युत प्राधिकरणले आगामी कार्तिक २८ गते वा १४ नोभेम्बरभित्र प्रस्ताव उपर निर्णय गरिसक्नुपर्ने भएपनि थप एक महिना अवधि कायम गर्नका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ । यसको आधारमा १४ डिसेम्बरसम्म विद्युत प्राधिकरणले यसको विश्लेषण गरी स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ ।

विद्युत प्राधिकरणका प्रवक्ता सुरेस भट्टराईले भने बोलपत्रको कायम अवधि थपबारे जानकारी नभएको तर इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) बाट सस्तो दरमा बिजुली आयात गर्नेबारे भने छलफल भईरहेको जानकारी दिए ।

गत असोजमा विद्युत प्राधिकरणले आगामी हिउँदका लागि आयातका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राधिकरणका अनुसार, प्रति युनिट ११ रुपैयाँदेखि १६ रुपैयाँसम्मका लागि प्रस्ताव गरेका छन् ।

एनभीभीएनले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आगामी डिसेम्बरदेखि फेब्रअरीसम्मका लागि प्रतियुनिट भारु. ७.१८ (११.४८ रुपैयाँ) तथा टनकपुरबाट बिजुली ल्याउन पीटीसी–इण्डियाले भारु ८.०८ (१२.९२ पैसा) मा प्रस्ताव हालेको प्राधिकरणले जनाएको छ । यसैगरी निजी कम्पनी मणिकरण पावर र श्री सिमेन्टले प्रतियुनिट भारतीय १० (१६ रुपैयाँ) भन्दा बढी प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भने बोलपत्र आह्वान गरेरभन्दा भारतीय खुल्ला बजारबाट बिजुली लिँदा सस्तो हुने भएकोले यसतर्फ जानबारे छलफल गरिरहेको छ तर गत हिउँदको अन्तिम समयमा खुल्ला बजारबाट बिजुली आयात गर्दा २० भारतीय रुपैयासम्म पुगेको तथा पर्याप्त बिजुली पाउन नसकेकोले के गर्ने भन्ने निर्णय गर्न सकेको छैन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष आशिष गर्ग भने प्रत्येक १५ मिनेटमा दर परिवर्तन हुने आईईएक्स बजारभन्दा विद्युत प्राधिकरण अल्पकालीन र दीर्घकालीन बजारमा जान सके उपयुक्र्त हुने बताउँछन् । ‘आईईएक्स बजारमा जाँदा दर मात्र हुने बिजुली उपलब्धताको जोखिम पनि बढी हुन्छ तर अल्पकालीन र दीर्घकालीन बजारमा जाँदा समग्रमा जाँदा उपयुक्र्त हुन्छ ।’ उनले भने, ‘लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकेको प्राधिकरण अब पीपीएकै आधारमा निर्यातका लागि बोलपत्र आह्वान गरे जाने अवस्था आईसक्यो ।’

विद्युत प्राधिकरणले स्पष्ट निर्णय गर्न नसक्दा बोलपत्रकर्ताको कायम रहने अवधि थपेको छ । थपिएको अवधिभित्र पनि प्राधिकरणले यसको मूल्यांकन गरी स्वीकृति नदिएमा यो स्वत रद्ध हुनेछ । ‘आईईएक्स बजारबाट लिँदा सस्तो पर्छकि अहिलेको प्रस्ताव गरेको कम्पनीबाट लिँदा सस्तो पर्छ भनेर यसको विश्लेषणकै लागि बोलपत्र कायम रहेको अवधि थपिएको हो ।’ प्राधिकरण स्रोतले भन्यो, ‘बजारबाट लिँदा सस्तो देखिएमा भने हामी यो रद्ध गरेर त्यसतर्फ जाने सम्भावना छ, साह्रै महंगोमा किन्ने अवस्था छैन ।’

प्राधिकरणले विगतमा निर्यातका लागि बोलपत्र आह्वान गरेर रद्ध गरेको तथा अहिले आयातका लागि बोलपत्र आह्वान गरेर फेरि रद्ध गर्दा भारतीय कम्पनीमाझ नसकारात्मक सन्देश जाने भएकोले यसलाई समयमै उचित निर्णय गर्नुपर्ने बोलपत्रकर्ताले बताउँदै आएका छन् तर प्राधिकरण पर्ख र हेरको रणनीतिमा छ ।


Read Previous

अझै पूरा भएन चिलिमे-त्रिशूली प्रसारण लाइन,चैतमा सम्पन्न गर्ने अर्को तालिका

Read Next

विकासशील देशले ७० प्रतिशतसम्म कार्वन उत्सर्जन घटाउन सक्छन्: विश्व बैंक

Leave a Reply

Your email address will not be published.