Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु


काठमाडौं । सरकारले राष्ट्रिय गौरव तथा मुलुकका लागि रुपान्तरणकारी मानिएको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण थालिएको आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट खन्न सुरु गरिएको हो ।

शुक्रबार बिहान आयोजनाको सुरुङ खन्ने कार्यको शुभारम्भ गरिएको छ । अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएमबाट आयोजनाको सुरुङ खन्न सुरु गरिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा मन्त्रालयका सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उप–महानिर्देशक रुकमाङगत खनालसहितको टोलीले आयोजना स्थल पुगी सुरुङ खन्ने कार्य शुभारम्भ गरेको अनुगमन तथा निरीक्षण गरेको छ ।

टोलीले टिबीएमको ‘स्टेप–इन’ गरी सुरुङ खन्ने कार्य थालनी गरेको प्रत्यक्ष अवलोकन गरेको छ । सिन्धुलीको कुसुमटारबाट खन्न सुरु गरिएको आयोजनाको सुरुङ खुर्कोटसम्म लगिनेछ ।

सुनकोसी–मरिन डाइभर्सन अन्तर जलाधार जल स्थानान्तरण गर्ने बहुउद्देश्य आयोजना हो । यो आयोजना सुनकोसी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछापको सीमा भएर बग्ने सुनकोसी नदीमा डाइभर्सन संरचना निर्माण गरी सुनकोसी नदीको ६७ क्यूमेक पानी १३.३ किलोमिटर लामो सुरुङ निर्माण गरी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदीमा खसाली अहिले सञ्चालनमा रहेको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत मध्य तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याइने छ ।

आयोजना सम्पन्न हुँदा ३१.०७ मेगावाट विद्युत उत्पादन हुनुका साथै तराईका महोत्त्री, सर्लाही, धनुषा, रौतहट र बारा जिल्लाको १ लाख २२ हजार हेक्टर खेती योग्य भूमिमा सिँचाइ सुविधा पुग्ने छ । यो बहुउद्देश्यीय आयोजना २०७७ सालमा शिलान्यास भएर अघि बढेको हो । यो आयोजना निर्माण गर्न २०७७ साल फागुन २० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

एक वर्षदेखि सुरुङको ठेक्का प्रक्रियामा गई कार्यको थालनी गर्ने तयारी भइरहेको थियो । ठेकेदार नियुक्ति प्रक्रिया सकिएपछि सुरुङ खन्ने कार्यको थालनी भएको आयोजनाले जनाएको छ । काम सुरु गरेको मितिले २ वर्षभित्र यो सुरुङ खनिसक्ने तालिका छ ।

चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) ले टिबीएमबाट सुरुङ निर्माणको काम सुरु गरेको हो । विद्युत समेत उत्पादन हुने आयोजनाको बाँध निर्माणका लागि ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा पुग्न लागेको आयोजनाले जनाएको छ ।

अबको ४ महिनामा ठेकेदार छनोट प्रक्रिया पूरा भई बाँध क्षेत्रका संरचना बनाउन सुरु गरिने भएको छ । बाँध क्षेत्रका संरचना काम सुरु भएको साढे ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र प्रसारण लाइनलगायत सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ५ वर्षको तालिका तोकिएको छ । आयोजना सम्पन्न गर्न ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

सुनकोसी नदीको पानी मरिन हुँदै बागमतीमा पुर्याउने गरी बहुउद्देश्य आयोजना निर्माण गर्न डिजाइन तयार गरिएको छ । त्यसपछि बागमती सिँचाइ आयोजनाको ब्यारेजमार्फत तराईको खेती योग्य भूमिमा सिँचाइ सुविधा विस्तार हुनेछ ।

अहिले बागमती सिँचाइ आयोजनामार्फत तराईको ४५ हजार ६ सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुगे पनि हिउँदमा पानी नपुग्ने समस्या थियो । सुनकोसी–मरिन डाइभर्सन आयोजना तयार हुँदा १ लाख २२ हजार हेकटर क्षेत्रफलमा वर्षभरी नै सिँचाइ सुविधा पुग्ने सिँचाइ विभागले जनाएको छ ।

यसअघि भेरी–बबई बहुउद्देश्यीय आयोजनामा टिबीएमबाट सुरुङ खनिएको थियो । सुरुङ खन्न टिबीएम प्रयोग हुन लागेको सुनकोरी–मरिन दोस्रो आयोजना हो ।


Read Previous

कात्तिक १८ र १९ गते  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुने

Read Next

सुनकाेसी-मरिन डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुभारम्भ (फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published.