Nepal Purbadhar

नुवाकोटमा विद्युत् सेवा अवरोधको समस्या तत्काल समाधान गर्न निर्देशन


काठमाडौं। नुवाकोटमा बारम्बार विद्युत् अवरुद्ध हुने, जोखिमयुक्त विद्युत् संरचना तथा दूरसञ्चार टावरमा विद्युत् आपूर्तिसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिइएको छ।

नुवाकोट जिल्लाको विद्युत् आपूर्ति अवस्था, वितरण प्रणाली तथा सेवा प्रवाहका विषयमा भएको छलफलमा जिल्लामा देखिएका विद्युत्सम्बन्धी समस्यालाई प्राथमिकताका साथ समाधान गर्न नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रलाई निर्देशन दिइएको हो।

जिल्लावासीबाट बारम्बार विद्युत् ‘झ्यापझ्याप’ जाने गुनासो आउने गरेको भन्दै विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन भनिएको छ।

नागरिकको आवश्यकता र मागअनुसार ट्रान्सफर्मर, विद्युत्का पोल, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा जिल्लाको वास्तविक आवश्यकताअनुसार विद्युत् पूर्वाधार विस्तार गर्न पनि निर्देशन दिइएको छ।

पहिरो, प्राकृतिक विपद् वा अन्य कारणले ढलेका विद्युत्का पोल तत्काल प्रतिस्थापन गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेका झुन्डिएका र अव्यवस्थित विद्युत्का तार व्यवस्थापन गर्नसमेत भनिएको छ।

यस्तै, केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा पनि छलफल भएको छ। दूरसञ्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार जिल्लामा ठूलो प्रकृतिको विद्युत् समस्या छैन। केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः इन्सुलेटेड तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ।

आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारका लागि बजेटको अभाव नरहेको उल्लेख गर्दै उनले नागरिकले गुनासो गरेका स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्ने बताए।

हाल एकल फेज र तीन फेज विद्युत् जडानका अधिकांश सेवा एउटै दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक ‘टाइम अफ डे (टीओडी) मिटर’ जडान सेवा अधिकतम दुई दिनभित्र उपलब्ध गराउने गरी सेवा प्रवाहलाई थप छिटो बनाइएको वितरण केन्द्रले जनाएको छ।


Read Previous

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

Read Next

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar