
काठमाडौं। ग्लोबल आइएमई बैंकले युवा तथा डिजिटल प्रविधिमा अभ्यस्त ग्राहकलाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) वा राहदानी (पासपोर्ट) भएका ग्राहकले बैंकको शाखामा नगई घरबाटै अनलाइन आवेदनमार्फत यो खाता खोल्न सक्नेछन्।
मोबाइल वा कम्प्युटरबाट अनलाइन आवेदन प्रक्रिया पूरा गरेपछि खाता खोल्न सकिने बैंकले जनाएको छ। यसले बैंकमा पुगेर खाता खोल्नुपर्ने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार ग्लोबल नेक्स्ट जेन खातामा न्यूनतम मौज्दात राख्नुपर्ने छैन। अर्थात् ‘Minimum Balance Zero’ सुविधा उपलब्ध हुनेछ।
यस्तै, खाता खोलेको पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
अनलाइनमार्फत आवेदन प्रक्रिया पूरा भएपछि खाता तत्काल सक्रिय हुने तथा कारोबार गर्न सकिने सुविधा पनि खातामा रहेको बैंकको भनाइ छ।
यस खातामा बचतका लागि आकर्षक ब्याजदर उपलब्ध गराइएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले विशेषगरी युवा पुस्ता, विद्यार्थी तथा डिजिटल प्रविधिको प्रयोगमा अभ्यस्त ग्राहकलाई लक्षित गरी खाता ल्याएको जनाएको छ।
बैंकका अनुसार डिजिटल माध्यमबाट बैंकिङ सेवा लिन चाहने ग्राहकलाई सहजता प्रदान गर्नु तथा डिजिटल बैंकिङको प्रयोगलाई थप विस्तार गर्नु योजनाको मुख्य उद्देश्य हो।
इच्छुक ग्राहकले बैंकको आधिकारिक वेबसाइट वा डिजिटल बैंकिङ पोर्टलमार्फत ग्लोबल नेक्स्ट जेन एकाउन्टका लागि आवेदन दिन सक्नेछन्।
