
काठमाडौं। सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुनः काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार माइतीघरबाट र्यालीसहित प्रदर्शन गरेका हुन्। भेदभाव नगरी बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

माइतीघरबाट शुरू भएको र्याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको थियो। त्यसपछि उनीहरू पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणतर्फ जाने जनाएका छन्।
यसअघि सरकारसँग भएको सम्झौताको प्रतिलिपिसमेत साथमा बोकेर आन्दोलनमा उत्रिएका सहकारीपीडितले ‘सहकारीपीडित सदस्य बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको साँवा र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर्’ र ‘लाइसेन्सवाला ठगी बन्द गर्’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

वर्तमान सरकारले बचत फिर्ताको विषयमा साना र ठूला सहकारी भनेर भेदभाव गरेको सहकारीपीडितको गुनासो छ। उनीहरूले सरकारबाट पटक–पटक आश्वासन पाए पनि बचत फिर्ताको ठोस व्यवस्था नभएको भन्दै अब आश्वासन नभई न्याय र आफ्नो बचत फिर्ता चाहिएको बताएका छन्।

