
काठमाडौं । अब नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा बैंक खाता खोल्न सकिने भएको छ। ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै व्यक्तिगत बचत खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको हो।
नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन्। यसका लागि नागरिक एप प्रयोगकर्ताले बैंकले उपलब्ध गराएको लिंकमार्फत आवश्यक क्यूआर कोड प्राप्त गर्न सक्नेछन्।
नेपालमा पहिलो पटक सुरु गरिएको दाबी गरिएको यस सेवाबाट १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका र नागरिक एपमा आबद्ध नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्।
खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमति लिएर आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने बैंकले जनाएको छ। यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकको भनाइ छ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।
बैंकका अनुसार नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनेछ। सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गर्दै आएको छ। बैंकका अनुसार हाल ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।
